जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार २०:३९

कोरोना महामारी रोकथामबारे राष्ट्रपतिलाई ब्रिफिङ


काठमाडौं, चैत १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट नेपालमा पारेको असर र त्यसको तयारीबारे जानकारी लिनुभएको छ । कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री डा. युवराज खतिवडालाई शीतल निवासमै बोलाएर राष्ट्रपति भण्डारीले संक्रमण रोकथाम र नियन्त्रणमा सरकारको तयारीबारे जानकारी दिनुभएको हो ।

‘स्वास्थ्यकर्मीहरूलाई अत्यावश्यकीय सामाग्री पुगेन भन्‍ने सुन्छु, यथार्थ के हो ?आवश्यक तयारीमा बिशेष ध्यान दिनुहोस, राष्ट्रपति भण्डारीले मन्त्रीद्वयसँग गरेको कुराकानी गर्दै शितल निवास स्रोतले भन्यो, मानवजगतमाथि आइपरेको यो संक्रमणविरुद्धको तयारीका लागि कुनै कसर बाँकी नराख्‍नु ।’ राष्ट्रपति भण्डारीले पोखरेल र खतिवडासँग झण्डै दुई घण्टा जानकारी लिनभएको थियो ।

भेटमा मन्त्रीद्वयले सरकारले गरेको तयारी र अहिलेसम्मको अवस्थाबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको छ । पोखरेल र खतिवडाले चीनको गोन्जाओबाट शनिबार रातिसम्ममा अत्यावश्यकीय स्वास्थ्य किट आइपुग्‍ने र आइतबार प्रदेशहरूमा आवश्यकताअनुरुप वितरण गरिने बताउनुभयो । व्यापारीहरूले किनेर राखेको स्वास्थ्य सामाग्रीहरू लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आजै दिउँसो गोञ्जाओ गएको छ। तर यता संक्रमितहरुको संख्या बढिरहेकाले सरकार अझै सजक हुनुपर्ने र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने किट जतिसक्दो छिटो अस्पतालहरूमा पुर्याउनुपर्ने माग भइरहेको छ।

राष्ट्रपतिसँगको छलफलपछि संयोजक पोखरेलले शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अहिलेसम्मको कामबारे जानकारी गराउनु भएको छ । छलफलमा पोखरेलले अति विपन्‍न परिवारका लागि सरकारले ल्याउन तयारी गरेको आर्थिक प्याकेजका बारे परामर्श गर्नुभएको छ ।