जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार १३:३२

राजधानी बाहिर पहिलो पटक धरानमा कोरोना परीक्षण शुरु


धरान, चैत १६

राजधानी बाहिर पहिलो पटक धरानमा कोरोना भाइरसको परीक्षण शुरु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको हो ।

प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा.डा.नारायण भट्टराईको नेतृत्वमा कोभिड–१९ संक्रमण भए÷नभएको यकिन गर्न पीसीआर (पोलिमर चेन रियाक्सन) परीक्षण सुरु भएको छ । अहिले डा.भट्टराई त्यहाँ भएको ‘जैव सुरक्षा स्तर–२’ को प्रयोगशालामा परीक्षणमा भइरहेको छ । ‘यो परीक्षणको सुरुवात हाल अस्पताल भर्ना भएका तीन बिरामीको घाँटीको र्‍यालको नमुनाबाट परीक्षण गर्न थालिएको छ’, प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका प्रमुख प्रा.डा.संजिवकुमार शर्माले भन्नुभयो, ‘यहाँ हामीले एउटा लटमा १२ जनाको थ्रोट स्वाव (घाँटीको र्‍यालको नमुना) को परीक्षण गर्न सक्छौं ।’

प्रदेश नम्बर १ र २ बाट संकलित नमुनाहरु प्रतिष्ठानमा ल्याइनेछ । यसअघि प्रतिष्ठानमा ८० जना शंकास्पद कोभिड–१९ को बिरामीको परीक्षणका लागि २० वटा घाँटीको र्‍यालको नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । ती नमुना मध्ये १७ जनामा कोरोना देखिएन । तीन ३ वटा नमुना परीक्षणको परिणाम आउन बाँकी रहेको छ ।