जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार १६:४५

कोरोना रोक्न उच्चस्तरीय समितिले गर्यो यस्ता महत्वपूर्ण निर्णय


काठमाडौँ, चैत १६

सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।

सरकारले यस अघि चैत ८ देखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले पूर्ववतृ निर्णयअनुसार नै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भन्नुभयो – “कोरोना सङ्क्रणको त्रास कायम रहेकाले हवाई उडान रोक्ने निर्णय भएको छ ।”

यसैगरी, नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो । नेपाली नागरिक भएको प्रमाणित भएपछि नेपाल प्रवेश दिइने सचिव विडारीले बताउनु भयो । साथै उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाइनेछ ।

यस्तै, सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने भएको छ । चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर अहिले पनि धेरैले त्यसलाई पालना गरेका छैनन् । साथै पछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझै पनि सरकारको सम्पर्कमा पनि आएका छैनन् ।

‘संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दा पनि नआउने प्रवृत्ति देखिएकाले संक्रमण रोग ऐनको दफाअनुसार कडा कैद सजाय गर्ने निर्णय भएको छ’ समिति सचिवालयका प्रवक्ता सचिव नारायण विडारीले भन्नुभयो ।