जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार १७:२३

१९१९ रुपैयाँमा किन्ने सम्झौता गरेको पिपिईलाई किन ७ हजार भनेर भ्रम फैलाए (भाग–२)


काठमाडौं, चैत १६

लकडाउन शुरु गरेपछि स्वास्थ्यमा सामान सप्लार्य गर्ने सबैलाई बोलायौं । कसले कति सामान दिनसक्नु हुन्छ भनेर प्रश्न गर्यौ. । तपाईहरुको इण्डियामा, चाइनामा, हङकङमा सामान छ भने नेपाल सरकारले विमान लगेर ल्याइदिन्छ भन्दा उहाहरु पाँच\सात जनाले हामीसँग छ, भन्नुभयो ।

तपाईहरुसँग छ भने हामीलाई पेश गर्नुहोस् भनेर तीन घण्टाको समय दियौं । सो समयमा प्रस्ताव दुई वटाको मात्रै आयो । प्रस्ताव आएपछि उहाहरुसँग ‘नेगोसिएसन’ गर्यो । त्यसपछि सामान झिकाउने प्रक्रिया शुरु भयो । अब यहा कुरा के उठ्छ भने यो नितान्त सामान मंहगो भो, यहा भ्रष्टचार हुन लाग्यो भन्ने छ ।

म के भन्छु भने संसारभरी अहिले सामान छैन । सामान किन्न पाइदैन । सामान किन्न प्राइभेट अस्पताल कसैले पनि पाएको छैन । एउटा मास्क पनि नपाएको हामीसबै जनमानसलाई थाहा छ । अहिले हामीसँग दुईवटा सामानहरु आईपुगेको छ । एउटा हामीले किनेको र एउटा ‘डोनेसन’ को सामान आईपुगेको छ । सिचुवान प्रान्त र चिनीयाँ दूतावासले केही सामान दिएका छन् ।

एउटा उदाहरण पेश गर्दैछु । अहिले हामीलाई एन९५ मास्क, डिस्पोजल सर्जिकल मास्क, पिपिइहरु उहाहरुले दिनु भएको छ । पिपिई उहाहरुले किनेको १३० आरएमबी (लगभग नेपाली २ हजार रुपैयाँ) पर्छ । हामीले सम्झौता गर्दा १ हजार ९ सय १९ रुपैयाँमा सम्झौता गरेका छौं । जबकी चाइनाको सरकारले किन्दा नै त्यो १३० आरएमबीमा किनेको छ । उहाहरुले डिस्पोजल मास्क जुन मास्क हामीले प्रयोग गर्छौं । त्यसलाई उहाहरुले १.८ आरएमबीमा पठाउनु भएको छ । उहाहरुले पठाएको सामानको बिलमा त्यो लेखिएको छ ।

अहिले ग्लोबल सटेज छ । संसारभरी किन्न पाइदैन । किन्न नपाएको अवस्थामा केही महंगो भएको हुन सक्छ । तर, समयमा त्यो सामान भएन भने त्यसबाट हुने प्रभाव असाध्य धेरै हुने गर्दछ । नेपाल सरकार, स्वास्थ्य तथा जनसख्या मन्त्रालय मितव्ययी, पारदर्शीतामा नितान्त सचेत छ ध्यान दिन्छ । हामीले कति किन्छौं, कुन मुल्यमा किन्छौं । हामीले बेवसाइटमा राखेका छौं र किनिसकेपछि पनि त्यो बेवसाइटमा राख्ने नै छौं । त्यसकारण जनतालाई गुमराह गर्नुपर्ने केही छैन । तर, गलत सन्देश दिएर मानिसलाई भ्रम उत्पन्न गराउनुपर्ने कुराहरु नगरौं ।

अहिले संसारभरी थाहा छ । तपाईहरु इन्टरेनट हेर्नुहोस्, अमेरिका, युरोपियन देशहरुमा, इन्डियामा अभाव छ । चीनमै पनि अभाव छ । अभावको बेला किन्दा अन्य साधारण बेलाको जस्तो भाउमा सायद पाइदैन । अहिले हामीसँग अलिबाबा फाउन्डेसनबाट पनि सामानहरु आएको छ । उहाहरुले किनेको रेटपनि हेर्यौ, उहाहरुले किनेको रेटपनि पहिला भन्दा बढि नै छ ।

(स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा महानिर्देशक श्रेष्ठले अभिव्यक्त गर्नुभएको भनाईको सम्पादित अंश)

महेन्द्र श्रेष्ठ, महानिर्देशक, स्वास्थ्य सेवा विभाग