जनता टाइम्स

१९ चैत्र २०७६, बुधबार ११:१०

कोरोनाबाट एकैदिन ४ हजार ३ सय बढीले गुमाए ज्यान


काठमाडौं, चैत १९

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर एकैदिन ४ हजार ३ सय बढीले ज्यान गुमाएका छन् । ७२ हजार बढी संक्रमित थपिएका छन् । योसंगै विश्वभर ८ लाख ५८ हजारमा संक्रमण पुष्टी भएको छ, तीमध्ये ४२ हजार १ सय ७ जनाले ज्यान गुमाएका छन् । १ लाख ७८ हजार जना भने पूर्ण रुपमा निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

सबैभन्दा बढी इटलीमा थप ८ सय ३७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १२ हजार ४ सय २८ पुगेको छ । इटलीमा संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ८ सय १५ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा थप २४ हजारचन्दा बढीमा संक्रमण देखिएको छ। बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ३ हजार ८ सय ६७ पुगेको छ। त्यस्तै अमेरिकामा संक्रमितको संख्या झण्डै २ लाख पुगेको छ।

अमेरिकामा संक्रमितको संख्या एक लाख ८७ हजार नाघेको छ भने निको हुनेको संख्या ६ हजार ४ सय ६१ पुगेको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भन्दा अमेरिकामा मृत्यु हुनेको संख्या धेरै भएको छ। साथै चीनमा भन्दा अमेरिकामा संक्रमितको संख्या पनि दोब्बरले बढेको छ। बुधबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ५ पुगेको छ भने संक्रमितको संख्या करिब ८१ हजार रहेको छ। चीनमा निको हुनेको संख्या नै करिब ७६ हजार रहेको छ।

यस्तै, स्पेनमा २४ घण्टाको अवधिमा थप ७ सय ४८ जनाको मृत्यु भएसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ । फ्रान्समा ५२ हजार ८ सय २७ जनामा संक्रमण पुष्टी भएको छ भने ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ ।

इरानमा ४४ हजार ६ सय ५ जनामा संक्रमण पुष्टी भएकोमा २ हजार ९ सयले ज्यान गुमाएका छन् । बेलायतमा २५ हजार ४ सय बढीमा संक्रमण पुष्टी भएकोमा १ हजार ७ सय ९० जनाको मृत्यु भएको छ । म्यानमारमा संक्रमणबाट पहिलोपटक एक जनाले ज्यान गुमाएका छन् । संक्रमित क्यान्सरका बिरामी ६९ बर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।