जनता टाइम्स

१९ चैत्र २०७६, बुधबार १२:१९

तथ्य आफै बोल्छ : चीनले दिएको भन्दा पिपिईमा प्रतिसेट १४० रुपैया कम छ नेपालको खरिद मुल्य, हेर्नाेस प्रमाण


गणेश बस्नेत, शान्तिराम कार्की/ काठमाडौं

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपालले खरिद गरेको स्वास्थ्य सामाग्री चीन सरकारले नेपाललाई उपलब्ध गराएको मुल्य भन्दा १ सय ४० रुपैया कम रहेको तथ्य देखिएको छ ।

पर्सनल प्राटेक्टिभ इक्वीपमेन्ट (पिपिई) सेटमा चीनले खरिद गरी उपलब्ध गराएको मुल्य सूची र नेपाल सरकारले खरिद गरेको मुल्य सूचीको तुलना गर्दा यस्तो तथ्य देखिएको हो । सामाजिक सञ्जालदेखि बिभिन्न मिडियामा स्वास्थ्य सामाग्री गरिदमा भ्रष्टाचार भयो, अधिक मुल्यमा खरिद गरियो भन्दै कोरोनाबिरुद्धको अभियान कमजोर पार्न ठुलै खेल भएपछि जनताटाइम्सले चीन सरकारले खरिद गरी नेपाललाई हस्तान्तरण गरेको सामाग्रीको मुल्य र स्वास्थ्य बिभागले खरिद गरेको संझौताको मुल्यले यो तथ्य उजागर गर्छ ।

यस्तो छ तथ्य

कोरोना रोकथामका लागि अति जरुरी भएपछि आपतकालीन अवस्थामा सामान आपुर्ति गर्नको लागि स्वास्थ्य सेवा विभागले यही फागुन १४ गते ओविसिआई प्राइभेट लिमिटेड ललितपुरसँग सम्झौता गर्यो । संझौताअघि स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, निर्देशक भूपेन्द्र डोटेल, स्टोर प्रमुख चुडामणि भण्डारी, स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्की र सहसचिव रोशन पोखरेलले ओविसिआई कम्पनीसँग बार्ता गरी पीपिई खरिदका लागि दिउसो ४ बजे संझौतापत्रमा हस्ताक्षर गरिएको थियो । संझौतापत्रमा पर्सनल प्राटेक्टिभ इक्वीपमेन्ट (पिपिइ) सेटको मूल्य हवाई भाडासमेत गरी ४२.९८ अमेरिकी डलर उल्लेख छ । जस्को नेपाली मूल्य पिपिई प्रतिसेट ५२४४ रुपैया हुन्छ । पीपीई सेटमा पाँच ओटा स्वास्थ्य सामाग्री समावेश गरिएको छ । जुन यसप्रकार छ :

१. GOGGLES PROTECTIVE.
२. GOWN, AAMI Level 3
३. GLOVE EXAMINATION
४. RESPIRATOR, MASK, N95
५. SHOE COVER

सो कम्पनीसँगको संझौतामा ०.५ प्रतिशत डिस्काउन्टसमेत गरिएको छ । जस्को हिसाव यहाँ गरिएको छैन । यस्ले यो मुल्य भन्दा पनि कम पर्ने प्रष्टै छ । पिपिई सेटमा यी सामाग्री रहे पनि सरकारमाथि प्रहार गर्न एउटा सामाग्रीको नाम उल्लेख गर्दै अफवाह फैलाइएको र कोरोना रोकथाम गर्न सरकार असफल होस भन्ने कुनियतका साथ प्रचारवाजी भएको तथ्यले देखाएको छ । तर सरकारले कोरोना भाइरस रोकथाम का लागि चालेको प्रभावकारी कामलाई छायाँमा पार्न स्वास्थ्य माफियाहरुले एन ९५ मास्कको मुल्य यति भन्दै गलत प्रचार गरेर कोरोनाबिरुद्धको अभियान निश्प्रभावी होस र कोरोना नेपाल भित्रिएर नेपाली नागरिकको मरुन भन्ने योजनाका साथ तथ्यलाई बंग्याइएको छ।

छिमेकी मित्रराष्ट्र चीन सरकारको तर्फबाट सहयोग स्वरुप प्राप्त सामानको मूल्य (प्राप्त ईन्भ्वाईसको आधारमा) हवाई भाडासमेत प्रतिसेट करिव रु. ५३८४ रुपैया रहेको छ । जवकी नेपालको संझौतामा प्रतिसेट ५२४४ रुपैयाँ मात्रै रहेको छ । यसअनुसार नेपालको खरिद मुल्य प्रतिसेट १ सय ४० रुपैयाँ कम रहेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको पिपिई सेटको मुल्य २८.१८ डलर मात्रै रहेकोमा नेपाली कम्पनीसँग किन ४२.९८ डलरमा संझौता गरियो भन्दै प्रश्न उठाइएको पनि पाइन्छ । जवकी चीनबाट नेपालमा सामाग्री ल्याउन प्रतिकिलो १६ अमेरिकी डलर भाडा लाग्छ । यो जोडदा ४४. २८ अमेरिकी डलर हुन्छ । यो तथ्य हो । यसलाई तर्क, अफवाह वा कुतर्कले कसैगरी पनिले काटन सकिदैन ।

हेर्नाेस चीन सरकारले उपलब्ध गराएको इन्भ्वाइस र नेपालको संझौता

नेपाली कम्पनीले सरकारले तोकेको भन्दा २४ घण्टा अगावै पहिलो चरणमा १० प्रतिशत सामाग्रीसमेत ल्याइसकेको छ । सरकार र सो कम्पनीबीच भएको संझौतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सामान तथा उपकरणहरु अत्यावश्यक भएकोले चैत १७ गतेभित्र नेपालमै आपुर्ति गर्ने समयसीमा तोकिएको थियो । तर सो कम्पनीले मन्त्रालयको समयसीमा भन्दा २४ घण्टा अगाडि अर्थात चैत १६ गते बिहान ५ बजे जहाज चार्टर गरी समान तथा उपकरणहरु काठमाडौंमा ल्याएर हस्तान्तरण गरेको छ । यसैगरी अन्य सामान तथा उपकरणहरु पनि सो कम्पनीले प्रतिस्पर्धी बजार मूल्यमै उपलब्ध गराएको देखिन्छ ।

कोरोना भाइसरको महामारीका कारण बजारमा माग र आपुर्तीबीच असन्तुलन रहेको कारण चीनमा नै अहिले सामानको मूल्य अस्थिर रहेको छ । चीनबाट सामान आएपछि गुनस्तरहीन सामाग्री ल्याएको भन्ने चर्चा पनि सुरु गरिएको छ । सो कम्पनीले उपलब्ध गराएको पिपिई सेट उच्च गुणस्तर (FDA/CE) को रहेको परीक्षणबाट प्रमाणित भइसकेको छ । यसअघि निजी क्षेत्रले सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामाग्री गुणस्तरहीन रहेको तथ्यलाई ढाकछोप गर्न सरकारले ल्याएको सामाग्री गुणस्तरहीन भन्दै अफवाह फैलाइएको छ ।

सरकारलाई सहयोग भन्दै काम नलाग्ने सामाग्री उपलब्ध गराउने निजी क्षेत्रका ठुला घरानियाको अपराध लुकाउन यस्तो काम गरिएको तथ्यले प्रमाणित गर्छ । स्वास्थ्य मन्त्रालयका सल्लाहकार कार्कीले नीति क्षेत्रले दिएको सामाग्री गुनस्तरहीन देखिएपछि सरकारमाथि आक्रमण गरी अफवाह फैलाइएको तथ्य खोलिसक्नु भएको छ ।

यसरी आयो समय अगावै सामाग्री

विश्वव्यापीरुपमा फैलिएको महामारीको कारण बजारमा सामान तथा उपकरण उपलब्ध हुन नसकिरहेको अवस्थामा सामान ब्यवस्थापनमा असहज हँुदाहुँदै यस कम्पनीले अथक प्रयास गरी छोटो समयमा अत्यावश्यक सामानहरु प्राथमिकताको आधारमा उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रालयका सचिवसहित स्वास्थ्य सेवा बिभागका पदाधिकारी र पर्यटनमन्त्री योगेश भट्टराईको बिशेष पहलकदमीका कारण सो कम्पनीले बिमान चार्डड गरी सामान ल्याएको हो ।

सामान ल्याउन बिमान प्रयोग गर्दासमेत मन्त्री जमानी बसेको जस्तो तर्क गरिएको छ । जवकी सामाग्री खरिदको जिम्मा पाएको कम्पनीले नै १ लाख ५३ हजार युएस डलर अर्थात १ करोड ८६ लाख ६ हजार हवाई भाडा तिरेर बिमान चार्टड गरेको देखिन्छ । सामानको आयतन वढी भएको कारण १० टन मात्र सामान जहाजमा ल्याईएको थियो । यस अनुसार हवाई भाडा प्रति केजी करिव यूएस डलर १६ परेको छ ।

तथ्य यो पनि रहेको छ कि परीक्षणबाट चीन सरकारले अनुदानमा उपलब्ध गराएको पिपिई र एन ९५ मास्क भन्दा ओविसिआईले उपलब्ध गराएको पिपिई र एन ९५ मास्क गुणस्तरीय देखिएको छ । स्वास्थ्य सेवा बिभागले गरेको परीक्षणबाट यो तथ्य बाहिर आएको हो ।