जनता टाइम्स

१९ चैत्र २०७६, बुधबार १७:२१

स्वास्थ्य सेवा बिभागले रद्ध गर्यो ओविसिआईसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता, यस्तो छ कारण


काठमाडौं, चैत १९ । स्वास्थ्य सेवा बिभागले कोरोना भाइरस रोकथामका लागि पर्सनल प्राटेक्टिभ इक्वीपमेन्ट (पिपिई) सेटलगायतका स्वास्थ्य सामाग्री खरिदका लागि ओविसिआई ललितपुरसँग गरेको खरिद संझौता रद्ध गरेको छ । पहिलो चरणमा तोकिएअनुसारका सामाग्री नल्याएको तथा दोस्रो पटक तोकिएको समयमा पनि सामाग्री नल्याउने निश्चित भएपछि बिभागले आज सो कम्पनीसँगको संझौता रद्ध गरी धरौटी बापतको झण्डै ६ करोड रुपैया जफत गरेको हो ।

बिभागले सो कम्पनीसँग गत १४ गते खरिद संझौता गरेको थियो । जसमा पहिलो चरणमा चैत १७ गतेभित्र ३० प्रतिशत सामान उपलब्ध गराउनु पर्ने उल्लेख थियो । यस्तै दोस्रो पटक चैत २० गते ३० प्रतिशत र फाइनल चरणमा ४० प्रतिशत सामाग्री उपलब्ध गारउने सर्तनामा थियो । सर्तनामामा समय किटान गरेपछि सो कम्पनीले पहिलो चरणमा तोकिएको भन्दा २४ घण्टा अगावै सामाग्री ल्याएपनि जम्मा १० प्रतिशत मात्रै ल्याएको थियो । ३० प्रतिशत सामान नल्याएपछि दोस्रो पटक भोलि चैत २० गते दोस्रो पटकको ३० प्रतिशतसहित ५० प्रतिशत सामाग्री आउने अपेक्षामा बसेको बिभाग आज अपरान्हसम्म सो कम्पनीले बिमान पठाउन आग्रह नगरेपछि संझौता नै रद्ध गरिएको हो ।

स्वास्थ्य सेवा बिभागमा महानिर्देशक महेन्द्र श्रेष्ठले तोकिएको समयभित्र सामाग्री नल्याउने निश्चित भएपछि संझौता रद्ध गरी धरौटी बापतको रकम जफत गरिएको बताउनु भयो । सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने कीट गुणस्तरयुक्त रहे नरहेको बिषयमा ल्याव परीक्षणमा पठाएको छ । ल्यावको निश्कर्षप्छि मात्रै ती सामाग्री प्रयोगमा आउने स्वास्थय मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले यसअघि नै जानकारी दिइसक्नु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार कार्कीले कीटको गुणस्तर जाककच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिएको प्रष्ट पार्नुभयो । ‘सरकारले खरिद गरेको कीटको गुणस्तर जाककच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्रै मात्र प्रयोगका लागि वितरण गरिने हो,’ कार्कीले भन्नुभएको छ ।