जनता टाइम्स

२० चैत्र २०७६, बिहीबार १२:०७

एनआरएनएको नेता बताउने नविन विकले १० करोडको सामान पठाउछु भनेर झुट बालेको पुष्टि


काठमाडौं, चैत २०

कोरोना भाइरस नियन्त्रणका लागि सित्तैमा स्वास्थ्य सामग्री सामान पठाइदिन्छु भन्‍ने नविन विक एनआरएनएका आईसीसी सदस्य आधिकारिक व्यक्ति नभएको खुलेको छ ।

एनआरएनएका आईसीसी सदस्य रहेका विकले चीनबाट १० करोडको सामान निशुल्क पठाईदिन्छु भनेर एक टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए । उनले आफ्नो नेतृत्वमा १० करोडको सामान पठाउन लागेको समेत उल्लेख गरेका थिए । एनआरएनए चीनले अहिले उनको समेत संलग्नतामा धमाधम राहत रकम संकलन गरिरहेको छ । तर, सामान कहिले आउने भन्ने अत्तोपत्तो रहेको छैन ।

एनआरएनएका आईसीसीका प्रवक्ता डीबी क्षेत्रीले टेलिभिजनमा अन्तार्वार्ता दिने व्यक्ति आधिकारिक नभएको विज्ञप्ती निकालेर बताईदिएपछि उनको झुटको पर्दाफास भएको हो । एउटा टेलिभिजन अन्तर्वार्तामा विकले आफ्नो नेतृत्वमा १० करोडको सामान पठाउन लागेको दाबी गरेपछि विवादमा तानिएका थिए । ‘नेपाल सरकारले चीनबाट स्वास्थ्य परीक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका बारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको छ’, क्षेत्रीले भन्नुभएको छ, ‘निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं ।’

क्षेत्रीले एआरएनएले अहिले त्यतिका परिमाणको सामान पठाउने योजना नरहेको बताउदै एउटा विज्ञ समिति बनाएर करिव १ करोड रुपैयाँको सहयोगको तयारी भईरहेको उल्लेख गर्नुभएको छ । ‘संघले तोकेको आधिकारीक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने आमसञ्चार माध्यमलाई समेत जानकारी गराउँदछौं’, उहाले भन्नुभएको छ, ‘खरिद प्रकृयाका बिषयमा कुनै कमिजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको हो।’

संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा संसारभरका विज्ञहरु रहेको एक उच्चस्तरीय समिति गठन गरी एक रणनितिक कार्ययोजना तयार गरेको जानकारी उहाले दिनुभएको छ । प्रवक्ता क्षेत्रीले सोही अनुरुपमा संघका विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषदहरुले नेपाली कुटनीतिक नियोगहरुको सहकार्यमा नेपाली समुदायलाई सहयोग गर्दै आएकोसमेत जानकारी दिनुभयो ।