जनता टाइम्स

२१ चैत्र २०७६, शुक्रबार १७:५०

फेरि चिप्लियो मिडिया : नेपालमा कोरोना संक्रमितको संख्या थपिएको समाचार झुटो सावित


काठमाडौं, चैत २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या नबढेको प्रष्ट पारेको छ । मन्त्रालयले आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकाश देवकोटाले संक्रमितको संख्या बढेको भन्ने समाचार गलत रहेको र संक्रमितको संख्या यथावत रहेको प्रष्ट पार्नुभएको हो ।

प्रवक्ता देवकोटाले विभिन्न संञ्चारमाध्यममा पोखरामा कोरोना भाइरसको पोजेटिभ केस देखिएको भनी आएको समाचार आएको उल्लेख गर्दै निको भएकोसहित गरेर जम्मा ६ वटा केस मात्रै पोजेटिभका भएको स्पष्ट पार्नुभयो । ‘हालसम्म संक्रमित केस जम्मा ५ वटा हो । एउटा निको भएर गईसकेको बाहेक । निको भएको सहित ६ वटा हो । यो ५ वटामा आइसोलेनमा उपचार भईरहको टेकुमा २ वटा, बाग्लुङमा २ वटा र धनगढीमा १ वटा हो,’ प्रवक्ता देवकोटाले भन्नुभयो । प्रदेशका विभिन्न स्थानमा नमुना परीक्षणका लागि नया मेसिनहरु राखिएकाले कुनै संकास्पद केश भएमा त्यसको पुनः परीक्षण गरेपछि मात्रै निष्कर्षमा पुग्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।

एक हजार २७७ नमुना परीक्षण

देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अहिले सम्म जम्मा १ हजार २ सय ७७ वटा नमुना परीक्षण भएको छ भने प्रतिदिन १०० भन्दा बढीका दरले टेकुमा नमुना परीक्षण गर्न थालिएको छ । काठमाडौं बाहिर ७८ वटा नमुना परीक्षण गरिएको छ । धरानमा ३९, जनकपुरमा ५, हेटौंडामा ५, पोखरामा १९ , सुर्खेतमा ७ र धनगढीमा ४ वटा नमुना परीक्षण गरिएको हो । सबै परीक्षण नेगेटिभ आएका छन् । बुटबलमा भने नमुना परीक्षणका लागि मेसिन जडान कार्य सुरु भइरहेको प्रवक्ता देवाकोटाले जानकारी दिनुभयो ।

भक्तपुरका खरिपाटी क्वारेन्टाइनमा रहेका सबै ९६ जना तथा कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका ९२ जनाको नमुना संकलन गरिएको छ । कोभिड १९ को सम्भावित संक्रमणको आंशकामा उपत्यकामा १५ र उपत्यकाबाहिर १०५ गरी मुलुकभर १२० जना आइसोलेसनमा उपचारत छन् ।

मन्त्रालयको एप्समा ५ हजार ६२६ जनाले आफ्नो व्यक्तिगत स्वास्थ्य विवरण भरेको र ती मध्ये १०७ जना रेड जोनमा रहेकाले उनीहरुलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मार्फत सम्पर्क गरिने प्रवक्ता देवकोटाले बताउनुभयो । रेड जोनमा रहेकाको ट्राभल हिस्ट्रीलगायत हेरेर नमुना परीक्षण गरिने छ । एप्समा भरिएको विवरण र सम्पर्क ठेगाना कतिपयको गलत भएकाले सही विवरण भरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ । डा. देवकोटाले पिपिइको दुरुपयोग नगर्न र कोभिड १९ बाहेक अन्य विरामीलाई इमरजेन्सी सेवा बाट बञ्चित नगर्न पनि सबै अस्पताललाई सुझाव दिनुभयो ।