जनता टाइम्स

२१ चैत्र २०७६, शुक्रबार १८:०९

कोरोनाविरुद्ध लडाईंमा सरकारको आलोचना : फ्राई गर्नु पर्ने अण्डा किन उसिनेको ?


स्वास्थ्य क्षेत्रका विचौलियाहरुको स्वार्थ पूरा हुन नसक्दा झुट र भ्रमको खेतीमा अत्यधिक मलजल भएको पनि हुनसक्छ । कोरोना भाईरसको आक्रमणबाट सम्पूर्ण नेपाली जनतालाई बचाउने कर्म गरे वापत कोही नेतालाई भोली अख्तियार लाग्न सक्छ । नेताहरु जेल पनि जान सक्छन्, यो भोलिको कुरा हो, हुदै जाला । पार्टीभित्र र बाहिरको राजनीतिक हिसाबकिताब पनि हुदै जाला । तर आजको अर्जुदृष्टि हो –बाँच्नु र बचाउनु

निर्मल भट्टराई

कोरोना भाईरसका कारण संसारमा त्राहित्राहि मच्चिएको छ । संसारका प्रायः सबै नियमित कामहरु बन्द या स्थगित भएका छन् । सिङ्गो विश्व आज बन्दाबन्दीअवस्थामा रहेको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा यसको रोकथाम कसरी गर्ने र संक्रमितहरुलाई कसरी बचाउने भन्ने नै संसारका सरकारहरुको सबभन्दा प्रमुख र एक मात्र कार्यसूची बनेको छ । के महाशक्ति राष्ट्र, के विकासशील वा विकासोन्मुख राष्ट्र यही घातक भाईरसविरुद्ध लडिरहेछन् । चीनबाट शुरु भएको यसको महामारी आफ्नो उद्गम स्थलमा लगभग नियन्त्रणको अवस्थामा रहेको छ भने युरोप र अमेरिकामा यसको महामारी उत्कर्षमा छ । त्यहाँ दिनहुँ हजारौं मानिसको यही धातक भाइरसको संक्रमणको कारण ज्यान गईरहेको छ । आर्थिक रुपले सम्पन्न, स्वास्थ्यको क्षेत्रमा भीमकाय स्रोत , साधन एवं प्रविधिको प्रयोग गरिरहेका ती राष्ट समेत तोबातोबा भएका छन् ।

कोरोनाले छिमेकी चीनमा व्यापकता लिन थालेदेखि नै नेपालले यसको प्रतिकार्यमा उच्च सतर्कता अपनाउदै आएको छ । चीनको बुहानमा फसेको नेपालीको उद्धार गर्ने सवालमा होस् अथवा, तिनीहरुलाई क्वारेन्टाईनमा राख्ने सवालमा होस नेपाल सरकारले उत्कृष्ट व्यवस्थापन गरेको सर्वविदितै छ । कोरोनाको विश्व व्यापकतासंगै नेपालमा संक्रमण बढ्न सक्ने अवस्यालाई मध्यनजर गरी नेपालले कोरोनाभित्रिन सक्ने नाकाहरुमा कढाई सुरु गर्यो । लकडाउन गर्न आवश्यक तयारी गरिरहदा सरकारलाई कडा कदम चाल्न नसकेको आरोप लाग्यो । तयारीपछि सरकारले देशभर लकडाउन गर्यो । सरकार फेरि पनिआलोचनामुक्त भएन । भन्न थालियो, लकडाउनले जनतालाई सास्ती भयो, जनताले खान पाएनन्, जनतालाई ख्वै राहत दिएको आदि । अचम्म त के भने तुरुन्त सीमानाका बन्दगर्नु पर्छ, एक जना पनि ओहोरदोहोर गर्न दिनुहुदैन, भारतबाट आउने मानिसहरुबाट कोरोनाको संक्रमण हुनसक्छ भन्नेहरु नाकाबन्द गरेपछि सीमामाआएका केही दर्जन नेपालीलाई देखाएर तिनीहरुलाई ख्वै देश भित्रयाएको भन्दै कराउन थाले । अहिलेसम्म पनि कराईरहेछन् ।

सरकारविरुद्धको आलोचना बढ्दै गयो । संक्रामक रोगको परीक्षण गर्ने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल डाक्टर कर्मचारी भड्काउन थालियो र भन्न थालियो यो सरकारले सम्भावित संक्रमणमा खटिने स्वास्थ्यकर्मीहरुको जीवनमा खेलवाड गर्दैछ, पर्याप्त पीपीइ र अन्य स्वास्थ्य उपकरणको व्यवस्था गर्न सरकार चुक्यो । सरकारले द्रुतमार्गको प्रक्रिया पूरा गरी सामानको व्यवस्था गर्यो । काठमाडौ बाहिर पनि कोरोना परीक्षणको बन्दोवस्त गर्यो । पीपीइ र अन्य स्वास्थ्य उपकरणको भरपुर व्यवस्था गर्यो । संघीय, प्रादेशिक तथा स्थानीय सरकारको समन्वयमा क्वारेन्टाइनको व्यवस्था गर्यो, आईसोलेसन वार्डहरुको मनग्य व्यवस्था मिलायो । सरकारविरुद्धको आलोचना मत्थर भएन, झन बढ्यो । खरिद गरिएका स्वास्थ्य सामग्रीमा चरम घोटाला भएको र कोरोनाविरुद्ध लडिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई र स्वास्थ्यमन्त्री भानुभक्त ढकालका शाखा सन्तानको समेत मिलेमतोमा व्यापक हिनामिना भएको विगुल फुक्न थालियो, लामालामा समाचार–कथाहरु बने र तिनै समाचारलाई आधार बनाएर कोही अख्तियारमा उजुरी गर्न पुगे ।

सामान समयमा नल्याएपछि सरकारले सो सम्झौता रद्द गरेर जीटुजीमार्फत् नेपाली सेनाले खरिद गर्ने निर्णय गर्यो । करोडौं कमिसन खाएको भनिएको सम्झौता नै रद्ध भएपछि आलोचना अर्कोतिर मोडिदैछ–सेनालाई किन सक्रिय गराएको ? नागरिक शासन किन कमजोर पारेको ?
यसैविचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चालेका ‘महान’कदमको लामो प्रशंसा गर्दै आफ्ना पार्टीका प्रथमअध्यक्ष तथा प्रधानमन्त्री के पीशर्मा ओलीले ‘केही गर्न नसकेकाले राजिनामा दिएर आराम गर्न’ भन्दै सत्तारुढ नेकपाका केन्द्रिय सदस्य रामकुमार शर्माले लम्बे पत्र सार्वजनिक गरे । अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले ‘पूजीवादी सरकारको चरित्र यस्तै हो’ भन्ने ‘माक्सवादी’पण्डित्याईं प्रस्तुत गरे । कुनैवेला पूर्व माआवादी केन्द्र नजिक मानिएका प्रिन्ट र अनलाईन मिडियाले सरकारको उछित्तो काडिरहे । राम्रा र जनहितकारी निर्णयको समेत विद्रुपीकरण र खिसी–टिउरी गरिरहे ।

नेकपाभित्र र बाहिरका केही नेता कार्यकर्ताले केहीगर्न नसकेको भन्ने गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीका कोरोनाविरुद्धका रणनीति उनीहरुबाट प्रशंसित मोदी र ट्रम्पका नीति भन्दा प्रभावकारी देखिदैछन् । कोरोनाको महामारीबाट कोही नेपालीको हताहती नहुने सुन्दर क्षितिज देखिदैछ । युरोप, अमेरिका र भारतमा समेत मृतकको संख्या दिनदुगुना रात चौगुना बढ्दै जाँदा नेपालमा विदेश गएर आएका केहीमा फाट्टफुट्ट संक्रमणको पुष्टि भएको पाईएको छ । विरामीको अवस्था सामान्य हुँदा यो विश्वव्यापी महामारीबाट हाल देशभित्र रहेका सबै नेपाली सग्लै रहने अनुमान गर्न सकिन्छ ।

नेपाली जनजिब्रोमा एउटा किस्सा छ । श्रीमतिले जे गरे पनि श्रीमान्ले चित्त बुझाउदैनथ्यो । एक दिन उसले श्रीमतिलाई अह्राउछ –अण्डा पकाएर ल्याउ । श्रीमतिले अण्डा उसिनेर दिइन् । श्रीमानले रिसाउदै भन्यो – अमलेट बनाउनु पर्ने उरिनेर मरिछ । भोलिपल्ट त्यहीआदेश फर्मान भएपछि श्रीमतिले अमलेट बनाएर ल्याउछिन् । श्रीमान् फेरि जङ्गिन्छ–उसिनेर ल्याउनु पर्ने अम्लेट पो बनाईछ । अर्को दिन एउटा अण्डा उसिनेर र एउटा अण्डाको अम्लेट बनाएर श्रीमान्लाई टक्र्याईछ । श्रीमान् झन बम्किदै भन्छ–मेरी बुढीको कहिल्यै मति नसुद्रिने भयो, उसिन्नु पर्ने अण्डाको अमलेट बनाईछ र अमलेट बनाउनु पर्ने अण्डा उसिनिछ !

कोरोनाविरुद्धको लडाईंमा सरकारले चालेका कदमको आलोचना उल्लिखित किस्साको श्रीमानको स्तर भन्दा माथि उठ्न सकेको छैन । स्वास्थ्य क्षेत्रका विचौलियाहरुको स्वार्थ पूरा हुन नसक्दा झुट र भ्रमको खेतीमा अत्यधिक मलजल भएको पनि हुनसक्छ । कोरोना भाईरसको आक्रमणबाट सम्पूर्ण नेपाली जनतालाई बचाउने कर्म गरे वापत कोही नेतालाई भोली अख्तियार लाग्न सक्छ । नेताहरु जेल पनि जान सक्छन्, यो भोलिको कुरा हो, हुदै जाला । पार्टीभित्र र बाहिरको राजनीतिक हिसाबकिताब पनि हुदै जाला । तर आजको अर्जुदृष्टि हो –बाँच्नु र बचाउनु । बस् ।