जनता टाइम्स

२२ चैत्र २०७६, शनिबार २१:००

सरकारले गर्यो लकडाउनमा थप कडाइ : एक प्रदेश, जिल्ला र स्थानीय तहबाट अर्काेमा जान नपाइने


काठमाडौं, चैत २२ । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

आज मात्रै कैलालीमा थप तीन जना कोरोना संक्रमित फेला परेपछि सरकारले लकडाउन कडा पार्ने निर्णय गरेको हो । ‘कोरोनाको जोखिम रहँदासम्म लकडाउनको पूर्ण पालना गराउनेतर्फ सवै निकायबाट प्रभावकारी कदम चाल्ने निर्णय बैठकले गरेको छ, यस्को लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कडाईका साथ नियन्त्रण गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले भन्नुभयो ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

यसैगरी मन्त्रिपरिषदले कैलाली, कञ्चनपुर र बागलुंगमा र्यापिड टेष्ट गर्ने निर्णय पनि गरेको छ । नयाँ केस देखिएका कैलाली, कञ्चनपुर र बागलुंग जिल्लामा छिटो बिधिबाट गरिने र्यापिड टेष्ट गरी पिसीआर बिधिबाट पनः परीक्षण गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएको छ, मन्त्री खतिवडाले भन्नुभयो । उहाँका अनुसार बैठकले स्वास्थ्यकर्मीको मनोवल बढाउन बिमा र भक्ताको अतिरिक्त स्वास्थ्य सुरक्षाका उपकरणहरु यथासंभव छिटो उपलब्ध गराउने, निश्चित प्रोटोलकका आधारमा ती उपकरण प्रयोग गर्ने र स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्याउनेमाथि कार्वाही गर्ने निर्णय भएको छ ।