जनता टाइम्स

२४ चैत्र २०७६, सोमबार ०७:२६

कोरोना महामारीमा पनि सरकारबिरुद्ध घेरावन्दी किन ?


जनताटाइम्स टिप्पणी

सिंगो मुलुक कोरोना भाइरस (कोभिड १९) को बिरुद्ध लडिरहेको बेला कांग्रेस नेता रामचन्द्र पौडेलले सर्वदलीय सरकार गठन हुनुपर्ने प्रस्ताव अघि सार्नुभयो । कोरोनाबिरुद्धको लडाई जित्न सरकारले चालेको प्रभावकारी कदमलाई कमजोर पार्न पौडेलले यस्तो बेमौसमको बाजा बजाउनु भएको बुझ्न कठिन छैन ।  पौडेलपछि कांग्रेसकै अर्का नेता डा. प्रकाशशरण महतले कोरोनाको रोकथाम र नियन्त्रणतिर होइन, मध्यावधी निर्वाचनतिर जानुपर्छ भन्दै टेलिभिजनमा अर्काे प्रस्ताव अघि सार्नुभएको छ । पौडेल र महत कांग्रेसमा फरक धारका नेता हुनुहुन्छ । उहाँहरु दुवैको कुरा कोरोना रोक्नेतिर भन्दा अन्यत्रै मुलुकको ध्यान केन्द्रित गराउनेतर्फ केन्द्रित रहेको छ भलै कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले यस्को प्रतिवाद गर्दै ब्यक्तिगत धारणा रहेको र त्यो पार्टी र देशकै लागि घातक हुने प्रष्टिकरण दिइसक्नु भएको छ ।

यो त प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताका कुरा भयो । यो मामिलामा कांग्रेस नेताको प्रस्तावलाई अनुशरण गर्दै सरकारले प्रतिवन्ध लगाएको बिप्लव समुहदेखि चुनावमा भाग लिएर देशभरबाट झण्डै १७ हजार मत ल्याएको मोहन बैद्यको पार्टीसम्मलाई समेटेर कोरोनाबिरुद्ध सर्वपक्षीय संयन्त्र निर्माण गरी त्यसैको निर्देशनमा सरकारले काम गर्नुपर्ने अनौठो प्रस्ताव पनि अघि सारिएको छ । यस्तो प्रस्ताव गर्नेमा बिपक्षी नभई सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य रहेका छन । एक केन्द्रीय सदस्यले कोरोना रोकथामतिर होइन, सरकार छाडेर अस्थिरता मच्चाउँदै कोरोनाबाट नेपालीकोज्यान जान देउ भन्दै प्रधानमन्त्रीलाई पत्र लेखेका थिए, अर्का केन्द्रीय सदस्यले आफ्नो मिडियामार्फत सरकार असफल भएको आफ्नो निश्कर्षका साथ सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने जोडदार तर्क गरिएको छ । संयोग भनौं वा नियती, सरकारबिरुद्ध खनिएकायी दुवै नेता नेकपाभित्र पूर्वमाओवादी समुहका हुनुहुन्छ ।

सर्वपक्षीय संयन्त्र गठनको माग गर्ने नेताले त आफ्नै दुई तिहाई सरकार असफल बनाउन आवश्यक सवै तर्क गरेका छन । ती नेताको तर्क छ, दुई तिहाईको कम्युनिष्ट सरकार असफल भयो, अव संसदमा भएको मात्रै होइन, बिप्लव, बैद्य सवैको संयन्त्र बनाउ र तिनैको निर्देशनमा सरकार चलाउ । यो तर्क जनताको अभिमतको ठाडै अपमान मात्रै होइन, पार्टीबिरुद्धको घात हो । ‘नेकपाकै नेताले यत्ति तल्लो हर्कत गर्छन भन्ने त लागेको थिएन, पढेर चकित परियो,’ नेकपाका एक केन्द्रीय सदस्य भन्छन, ‘नेकपाभित्र बसेर सधै अरुकै तावेदारी गर्नेहरुले मात्रै यस्तो सोच्न सक्छन ।’ त्यसो त नेपाली कांग्रेसदेखि बिपक्षीहरु नेपालमा कोरोना नभित्रिएकोमा सरकारको प्रभावकारी कदम भन्दा पशुपतिनाथको भरोसा भन्दै हिडेका छन ।

कोरोनाबाट कुनैपनि नेपालीको ज्यान जानबाट रोक्न सकियो भने सिंगो देशले जित्नेछ । तर बिपक्षीदेखि नेकपाभित्रकै एउटा समुह भने कोरोनाबाट नेपाललाई सुरक्षित राख्दा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेलदेखि यस्को काममा रहेका मन्त्रीहरु सफल हुन्छन, पार्टीभित्र हैसियत बढछ भन्ने मनोगत कुण्ठाको शिकार भई सरकारलाई सघाउनुको साटो बिपक्षीको प्यादा बनेर परिस्थिति भडकाइरहेका छन । बिपक्षीहरु कोरोनाबाट देशलाई जोगायो भने नेकपालाई कहिल्यै हराउन सकिदैन भन्ने त्रासमा रहेको देखिन्छ । अर्थात कोरोनाबाट नेपाली मर्दा मात्रै आफ्नो राजनीतिक भविश्य सुरक्षित देख्ने गम्भीर रोग लागेको छ । जुन देशकै लागि घातक छ । यस्तो मनोगत सोचकै आधारमा यतिबेला कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई सघाउनुको साटो सरकारबिरुद्ध प्रहार गरिरहेका छन । कहिले चिकित्सक भडकाउने, कहिले सामान खरिद नहोस भनेर अनेक प्रपञ्च रच्ने काम यसैको सिलसिलेवार घटना हुन ।