जनता टाइम्स

२६ चैत्र २०७६, बुधबार १४:१७

भारतमा कोरोना भाइरसको एन्टिबडी किट तयार


काठमाडौं, चैत २६ । कोरोना भाइरसको महामारी फैलिरहँदा भारतमा खुसीको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमले भारतीय एक कम्पनीले कोरोना भाइरसविरुद्धको एन्टिबडी किट बनाएको जानकारी दिएको छ ।

कोरोना भाइरसको संकटले संसारका विभिन्न देश समस्यामा परेका छन् । यो महामारीबाट हजारौँले ज्यान गुमाएका छन् । लाखौ प्रभावित भएका छन् । भारतमा पनि कोरोना भाइरसबाट संक्रमितको संख्या ५ हजार नाघेको छ । यही त्रासबीच भारतले कोरोनाको एन्टिबडी बनाएको समाचार सार्वजनिक भएको हो ।

भारतीय कम्पनी एचएलएल लाइफकेयर लिमिटेडले कोरोना भाइरसको एन्टिबडी किट बनाएको छ । यसले कोरोना भाइरसविरुद्ध लड्न सहयोग पुग्नेछ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार यो किटका लागि एनआइभीको तर्फबाट अनुमति प्राप्त भएको छ । यो किटको सहायतामा बिरामीको सेरम, प्लाज्मा र रगतको माध्यमबाट एन्टिबडी जाँच गरिनेछ । यो कम्पनीले भारत सरकारको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणको क्षेत्रमा सहयोग गर्छ ।

एन्टिबडी ब्लड टेष्ट किटमा बिरामीको रगतको स्याम्पल लिने गरिन्छ । यो टेष्टमा १५ देखि २० मिनेटमा बिरामीको रगतको रिजल्ट आउँछ । मानिसको औंलाबाट सजिलैसँग रगतको नमुना संकलन गर्ने र परीक्षणपछि एन्टीबडीले शरीरमा कोरोनाविरुद्ध कति काम गरेको छ भन्ने जानकारी पाउन सकिन्छ । कम्पनीले यो परीक्षणबाट कोरोना भाइरसको लक्षण नदेखिएका संक्रमितको उपचारमा ठूलो सहयोग हुने दावी गरेको छ । तर यसले कोरोना भाइरस संक्रमण भएको वा नभएको भन्ने कुरा पहिचान नगर्ने कम्पनीले जनाएको छ ।

बिरामीको र्यापिड एन्टिबडी ब्लड टेष्ट नेगेटिभ आएपछि उक्त बिरामीको आरटीपीसीआर टेष्ट गरिन्छ । आरटीपीसीआर रिजल्ट पोजेटिभ आएमा बिरामीलाई प्रोटोकलअनुसार आइसोलेसनमा राखेर उपचार गरिन्छ । त्यस्ता बिरामीको सम्पर्कमा आएका व्यक्तिलाई पनि खोजेर उपचार गरिन्छ ।