जनता टाइम्स

२८ चैत्र २०७६, शुक्रबार १३:०८

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता : सहकार्यलाई अझ सशक्त बनाउने सहमति


काठमाडौं, चैत २८

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको छ । कोरोनाभाइरस(कोभिड–१९)का विषयमा उहाहरुबीच द्विपक्षीय छलफल भएको हो । विशेषगरी भारतीय सिमामा रोकिएका नेपालीका विषयमा प्रधानमन्त्री ओलीले विशेष चासो राख्नु भएको छ ।

‘लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं’, प्रधानमन्त्री टेलिफोन वार्तापछि टिवटरबाट सो जानकारी दिनुभएको छ । उहाले कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमत भएको पनि उल्लेख गर्नुभएको छ ।

यसैगरी टेलिफोन वार्तामा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्ने विषयमा पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मोदीलाई धन्यवाद समेत दिनुभएको छ ।

टेलिफोन वार्तापछि यस्तो छ उहाले गर्नुभएको टिवट् ‘आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।’

उहाले अर्को टिवटरमा भन्नुभएको छ, ‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ ।