जनता टाइम्स

२८ चैत्र २०७६, शुक्रबार २२:०२

गुणस्तरमा प्रश्न उठेपछि निजी क्षेत्रको स्वास्थ्य सामग्री चीनले रोक्यो


काठमाडौं, चैत २८

निजी क्षेत्रले नेपाल ल्याउन लागेको स्वास्थ्य सामग्रीको गुणस्तरमा प्रश्न उठेको छ । गुणस्तरमा प्रश्न उठेपछि चीनले नेपाल ल्याउन लागिएको ३० टन सामान रोकेको हो । चीनले निर्यातसम्बन्धी नीति परिवर्तन गरेको छ ।

केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालले कोरोना उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री चीनको ग्वान्झाओबाट ल्याउन तयार पारेको थियो । सो सामान लिन नेपाल वायु सेवा निगमको वाइडबडी जाने तयारी समेत भईसकेको थियो । तर, चीनले गुणस्तरको प्रश्न उठाएर भन्सार पास नगरेपछि बाइडबडीले उडान रद्द गरेको छ ।

सामग्री लिन शुक्रबार साँझ ८ बजे वाइडबडी चीन जाने तयारी गरेको थियो । चीनबाट गुणस्तरहीन सामाग्री आउन थालेको भन्दै कतिपय देशले आपत्ति जनाएपछि तोकिएका कम्पनीका सामानमात्र निर्यात गर्न पाउने नियम बनाएको छ । निजी क्षेत्रले ल्याउन लागेको सामाग्री ति कम्पनीको नभएपछि रोकिएको हुनसक्ने स्रोतले जानकारी दिएको छ ।

तर, एसोसिएसनका अध्यक्ष सुरेश घिमिरेले भने केही कागजात बुझाउनुपर्ने भएकाले समय लागेको बताउनु भयो । ‘चीनले पछिल्लो सयममा स्वास्थ्य सामग्री निर्यात नीतिमा गरेको परिवर्तनको कारण ती सामग्री ल्याउन थप केही दिन लाग्ने भएको छ,’ एसोसिएसनका अध्यक्ष सुरेश घिमिरेले भन्नुभयो, ‘नयाँ नियमअनुसारका थप काजगात बुझाउन पर्ने र प्रशानिक काम गर्नु पर्ने भएकाले आज विमान त्यसतर्फ जाने छैन ।’ उहाले ती स्वास्थ्य सामग्री ओम्नी समूहले ल्याएकोभन्दा सस्तो हुने पनि दाबी गर्नुभएको छ ।