जनता टाइम्स

३० चैत्र २०७६, आईतवार १३:२२

कोरोनाबाट ज्यान गुमाउने मुलुकको पहिलो नम्बरमा अमेरिका, पछिल्लो पटक ह्वात्तै बढ्यो मृतकको संख्या


न्ययोर्क, चैत ३० । अमेरिका कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी नागरिक गुमाउने मुलुक बनेको छ । वल्डोमिटर्सका अनुसार कोरोना महामारी सुरु भएयता अमेरिकामा हालसम्म २० हजार ५ सय ८० जनाको ज्यान गइसकेको छ ।

यो तथ्यांकसँगै अमेरिका इटालीलाई पछि पार्दै कोरोनाबाट ज्यान गुमाउने मुलुकको पहिलो नम्बरमा पुगेको हो । इटालीमा कोरोनाका कारण हालसम्म १९ हजार ४ सय ६८ जनाले ज्यान गुमाएका छन । अमेरिकाले यसअघि दुई साता संक्रमणले ल्याउने कठिन परिस्थितिका लागि तयार रहन आफ्ना नागरिकलाई चेतावनी दिएको थियो । अमेरिकी सरकारले संक्रमणबाट १ लाखदेखि साँढे २ लाख नागरिकले ज्यान जाने अनुमान गर्दै आएको छ । हालसम्म अमेरिकामा ५ लाख ३३ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा सबैभन्दा बढी संक्रमित न्यूयोर्क राज्यमा भेटिएका छन । न्यूयोर्कमा हालसम्म १ लाख ८१ हजार १ सय ४४ जनामा संक्रमण भेटिएको छ भने मात्रै हालसम्म ८ हजार ६ सय २७ जनाको ज्यान गइसकेको छ ।