जनता टाइम्स

३ बैशाख २०७७, बुधबार ०७:२२

अमेरिकाले रोक्यो डब्लुएचओलाई आर्थिक सहयोग


काठमाडौं, वैशाख ३ । अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) लाई गर्दै आएको सहयोग रकम कटौती गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन आफ्नो आधारभूत कर्तव्य पूरा गर्न नसकेको भन्दै उसलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति भवन ह्वाइट हाउसमा भएको कार्यक्रममा ट्रम्पले आफ्नो प्रशासनलाई सङ्गठनको सहयोग रोक्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सङ्गठनले कोभिड १९ भाइरसको फैलिने क्रम रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र चिनियाँ पक्षधरता लिएको ट्रम्पको आरोप छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा देखिनासाथ नियन्त्रण गर्न सङ्गठनले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै ट्रम्पले सङ्गठन जवाफदेही बन्नैपर्नेमा जोड दिए ।

अमेरिका विश्व स्वास्थ्य सङ्गठनलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने देश हो । गएको वर्ष अमेरिकाले सङ्गठनलाई २० करोड अमेरिकी डलर सहयोग गरेको थियो । यो रकम सङ्गठनको १५ प्रतिशत बजेट बराबर हो ।