जनता टाइम्स

३ बैशाख २०७७, बुधबार १५:३६

कोरोना परीक्षणमा सवैको नतिजा नेगेटिभ आएपछि सनसिटीमा छायो खुसियाली (भिडियोसहित)


काठमाडौं, बैशाख ३

पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा पहिलो चरणमा गरिएको कोरोना परीक्षणमा सबको रिपोर्ट नेगेटिभ आएको छ । ब्लक ‘ए’मा बसोबास गर्ने २९६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षणमा नतिजा नेगेटिभ आएको हो ।

संक्रमित परिवारको घरमा काम गर्ने दुई युवकको पहिलोपटक नेगेटिभ आएपछि दोस्रोपटक पनि परीक्षण गरिएको थियो । अपार्टमेन्टमा बस्ने सबै व्यक्ति तथा वरपर रहेका पसलधनीको पनि आरडीटी गर्नुपर्ने निष्कर्ष स्वास्थ्य सेवा विभागको टोलीको छ । बाँकीको स्वास्थ्य परीक्षण दुई देखी तीन दिनमा सकिने बताइएको छ ।

अपार्टमेन्ट परिसरमा डिसइन्फेक्टेन्ट छर्किने काम पनि भएको छ । बाहिर सडकतिर पनि डिसइन्फेक्टेन्ट छर्किइएको थियो । वैशाख १ गते नगरपालिकाले विदेशबाट आएका ३६ जनाको परीक्षण गर्ने क्रममा सनसिटीमा बसोबास गर्ने एकै परिवारका तीन जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि पीसीआरबाट परीक्षण गर्दा ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । ५२ वर्षीया बुहारीको रिपोर्ट भने नेगेटिभ आएको थियो । सनसिटी अपार्टमेन्टमा बस्ने सवै जनाको आज बिहान साढे ९ बजेबाट र्यापिड डाइगोनोष्टिक टेष्ट (आरडिटी) प्रविधिबाट परीक्षण गरिएको थियो ।

परीक्षणमा सवैको नतिजा नेगेटिभ आएपछि अपार्टमेन्टमा खुसियाली छाएको छ । परीक्षणपछि अपार्टमेन्टमा रहनेहरुले खुसियाली मनाएका छन । नतिजा नेटेटिभ आएपछि सनसिटीमा थाल ठटाउनुका साथै सिठी बजाएरु खुसियाली मनाइएको थियो ।

हेर्नाेस खुसियालीको भिडियो