जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार १३:१९

सरकारको निर्देशन : कात्तिक ७ भित्र क्लिनफिड लागू गर्नु


काठमाडौं, असोज २८

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन नियमन गर्ने ऐनले गरेको व्यबस्था अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले कात्तिक ७ गतेभित्र विज्ञापनरहित, क्लिनफिड प्रसारण गर्न गराउन सम्बन्धित संघ संस्थालाई आग्रह गरेको छ । सरकारले आगामी ७ कार्तिकसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको हो ।

‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव गोकर्णमणी दवाडीले आज एक विज्ञप्ति जारी गरी ऐन प्रारम्भ हुँदाको समयमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र अर्थात् कात्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्ने कानूनी व्यवस्था स्मरण गराउनुभएको छ ।

सूचना जारी गर्दै भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको ध्यानाकर्षण भएको जनाइएको छ । मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गरेको छ । त्यसो नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ।

ऐनले नै क्लिनफिड प्रसारणका लागि एक वर्षको तयारी अवधिको व्यबस्था गरेकोले तोकिएको अवधिभित्र क्लिनफिड प्रसारण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रसारण संघ संस्थाहरुलाई आग्रह गरेको छ । कात्तिक ७ पछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।