जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १७:१९

महासंघको प्रतिनिधिमण्डल युरोप भ्रमणमा, आईएलओ सम्मेलनमा विषेश संबोधन


काठमाण्डौं, जेठ २६

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल जेनेभा प्रस्थान गरेको छ । महासंघको प्रतिनिधिमण्डल अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोह एवं १०८ औं सम्मेलनमा भागलिन जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली संगै प्रस्थान गरेको हो ।

स्विजरल्याण्ड गएको महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको ५ नम्वर प्रदेशका अध्यक्ष गुणनिधि तिवारी, महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिवी बस्नेत, महासंघको कृषि उद्यम केन्द्रका सह—सभापति हेमराज ढकाल, महिला उद्यमी महासंघ नेपालका सदस्य शोभा ज्ञवाली सहित नौ सदस्यीय टोली रहेको छ ।

आइएलओको कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा हाल यूरोपको भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डल पनि सहभागी हुने कार्यक्रम रहेको महासंघले जनाएको छ । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को सो सम्मेलनमा सरकार, रोजगारदाता र ट्रेड यूनियन प्रतिनिधिहरूको सहभागिता रहने छ । सम्मेलनमा महासंघका तर्फबाट महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकालले जेठ ३० गते संबोधन गर्नुहुने कार्यक्रम छ ।

आइएलओको शतवार्षिकी कार्यक्रम पश्चात सम्माननीय प्रधानमन्त्रीज्यूबाट बेलायत तथा फ्रान्सको समेत औपचारिक भ्रमण हुने कार्यक्रम छ । प्रधानमन्त्रीज्यूको सवै औपचारिक कार्यक्रममा महासंघको प्रतिनिधिमण्डल पनि सहभागी हुने कार्यक्रम छ । फ्रान्स भ्रमणका क्रममा दुई देश बीच हुने उच्चस्तरीय व्यवसायिक भेटवार्ता र सोही क्रममा महासंघ र मेडेफ इन्टरनेशनल बीच सहमतीपत्र मा हस्ताक्षर हुने कार्यक्रम छ । कार्यक्रममा महासंघका अध्यक्ष राणा, उपाध्यक्ष प्रधान सहित यूरोप भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी हुने बताइएको छ ।

उच्चस्तरीय व्यवसायिक भेटवार्तामा नेपाल र फ्रान्स बीच पर्यटन, प्रविधि र दुई देशका निजी क्षेत्र बीच लगानी प्रवद्र्धनमा जोड दिइने छ । फ्रान्समा हुने कार्यक्रमलाई महासंघका अध्यक्ष राणाले पनि संबोधन गर्ने कार्यक्रम छ । उच्चस्तरीय औपचारिक भेटवार्तामा नेपाल फ्रान्स बीच दुई पक्षीय लगानी, प्रविधि हस्तान्तरण, केवुलकार, पर्यटन पूर्वाधार, जडीबूटी प्रशोधन लगायतका क्षेत्रमा संयुक्त लगानी भित्र्याउन पहल गरिने विश्वास गरिएको छ ।