जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार ०९:३२

एमाले सहमति भाँडन प्रचण्डको थप सक्रियता : कोटेश्वरमा माधव भेटेर पुगे बालुवाटार


काठमाडौं, साउन १२ । एमाले उपाध्यक्ष भीम रावलले नेतृत्व लिएलगत्तै बिवाद समाधानको दिशामा गएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल निवास पुग्नुभएको छ । एमालेभित्रको बिवाद बढाउँदै सत्ता समीकरण मिलाउन प्रचण्ड आज बिहान माधव निवास पुग्नुभएको हो ।

आज बिहानै प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुग्नुभएको थियो । कोटेश्वरमा माधवसँग करिब ४५ मिनेट छलफल गरेर प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ। एमालेका नेपाल पक्षलाई सरकारमा सहभागी गराउने, संवैधानिक आयोगहरुमा नियुक्ति र मन्त्रिपरिषदबारे छलफल गरेर प्रचण्ड प्रधानमन्त्री निवास पुगेको स्रोतले जनताटाइम्सलाई बतायो ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको एमालेका माधव नेपाल पक्षलाई पनि सरकार गराउन प्रचण्डले जोड दिँदै आउनुभएको छ । प्रधानमन्त्री देउवा पनि माधव पक्षलाई सरकारमा सहभागी गराउने वातावरण बनाउने प्रयासमा हुनुहुन्छ । माधव नेपाललाई सरकारमा सहभागी गराउँदा एमाले फुट्ने र त्यसको राजनीतिक फाइदा कांग्रेस र माओवादीलाई हुने देउवा र प्रचण्डको अनुमान छ ।

माधव स्वयं पनि बिभाजनकै पक्षमा उभिनुभएको देउवा प्रचण्डको बुझाइ छ । तर माधव समुहका सवै नेताहरु एमालेमा बिवाद बाँकी नरहेको भन्दै एमताको पक्षमा उभिनुभएको छ । सोमवार सम्पन्न माधव समुहको स्थायी कमिटी बैठकले समेत एकता नै अन्तिम बिकल्प भन्दै माधवमाथि जथाभावी बोल्न लगाम लगाउँदै एकताको जिम्मा उपाध्यक्ष भीम रावललाई दिएको छ । सो निर्णयबारे बुझ्न र एमाले बिभाजन गराउने थप योगना बनाउन प्रचण्ड नेपाल निवास पुग्नुभएका खुमलटार स्रोतको भनाई छ ।