जनता टाइम्स

२२ श्रावण २०७८, शुक्रबार १०:४६

माधव नेपालः दुवैतिर हात, श्रमजिवी वर्गलाई कुठाराघात


ओली र नेपालको सहमतिमा बनेको कार्यदलले गरेको सहमति पार्टी अध्यक्ष के पी ओलीले सहर्ष स्वीकारेर सोहीबमोजिमको व्यवस्था गरिसक्दा पनि नेपाल त्यो पार्टी एकताको सहमति मान्न तयार नहुनु आश्चर्यजनक छ । दोश्रो तहका नेताहरूको सुझबुझपूर्ण पहलकदमी समेत लत्याएर गर्दा मेटमणी, रामकुमारी,विजय पौडेल,जगन्नाथजस्ता आलाकाँचा नेताको लहैलहैमा लागेर माधव नेपालजस्तो इतिहास भएको नेता रिङगिनु र एमालेको गति रोक्ने प्रयास हुनु नेपालको कम्युनिष्ट आन्दोलनको लागि विषतुल्य छ

 निर्मल भट्टराई

नेकपा (एमाले) का ‘बरिष्ठ नेता’ माधव नेपाल जीवनकै अप्ट्यारो अवस्थामा परेका छन् । एमालेतिर टाउको फर्काउँछन्, ओलीबराबरको हैसियत पाइदैन, रिसले देउबातिर टाउको फर्काउँछन्, पार्टी फुटाउन आवश्यक संख्या पुग्दैन । दिनप्रतिदिन उनका समर्थक एमालेका दोश्रो तहका नेता पार्टीको मूल प्रवाहमा फर्किरहेका छन् । एमालेमा ‘हिजोका फुल, आजका चल्ला’ मानिने केही उग्र एमालेविरोधी उरन्ठेउला कार्यकर्ताका नेता भएका छन् उनी ।

पञ्चतन्त्रमा एउटा कथा छ । एउटा सेल रोटीमा दुइटा विराला झगडा गर्दै थिए । त्यही समयमा एउटा बाँदर आइपुग्छ । बाँदरले तुरुन्तै उपाय सुझाउँछ- जोखेर आधा-आधा लिने । किन झगडा गर्ने ? विरालालाई यो आइडिया मन पर्छ । बाँदरले तुरुन्त एउटा तराजु ल्याउँछ । तर उसले एकातिर सेल रोटीको बढी भाग र अर्कोतिर कम भाग राखेर तौलिन्छ । भाग मिल्दैन । बढी भएको तिरबाट अलिकति रोटी भाचेर कप्लक्क मुखमा हाल्छ । एवम् रीतले बाँदरले रोटी खाइ सिध्याउँछ । विराला हिस्सिन्छन् ।

जननेता मदन भण्डारीको देहवसानपछि तत्कालीन मालेको मुहान झापा संघर्षका प्रमुख नेता के पी शर्मा ओली र संस्थापक महासचिव सि पी मैनालीको पार्टीभित्रको टकरावको फाइदा लिंदै माधव नेपाल एमालेको महासचिव बन्न पुगे । दुई पूर्व महासचिवहरू सि पी र जे एन पार्टीमा कमजोर भएपनि बामदेव र ओलीलाई लडाएर पार्टी सत्ता लामो समय चलाए । ०६४को संविधानसभाको चुनावमा दुई ठाउँबाट पराजित भएपछि भएको बुटवल महाधिवेशनमा जे एन र ओलीको चुनाबी प्रतिस्पर्धाको तयारी हुदै गर्दा सर्वसम्मतिको नाममा फेरि अध्यक्ष हुने योजना बनाए । तर त्यो सफल हुन सकेन ।

जब एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो, तब माधव नेपाल दुई प्रमुख नेता के पी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लडाएर आफ्नो शक्ति बढाउन लागे । के पी र प्रचण्ड मिलेमा आफ्नो राजनीतिको रोटी नसेकिने भयले उनलाई कुत्कुताईरह्यो । फलतः नेकपाको शैशवावस्थामै ज्यान गयो । कम्युनिष्टहरुको दुइतिहाइको सरकार गिराइयो । परमादेशको बलमा दक्षिणपन्थी गठबन्धनको सरकार बन्यो ।

माधव नेपाल अहिले एमालेको बरिष्ठ नेताको पगरीमै एमालेलाई तास्न अहोरात्र खटिरहेका छन् । उनी एकातिर एमाले एकताको विषय देखाएर देउबा र प्रचण्डसंग बार्गेनिङ गरिरहेका छन् भने अर्कातिर आफ्नो समूहलाई सरकारमा सामेल गराएर एमाले र ओलीसँग बार्गेनिङ गरिरहेछन् । सरकारमा  आफ्नो समूहको पनि सहभागिता गराउन केही समय पर्खन आग्रह गरेका छन् भने एमालेलाई सदस्यता नवीकरण र अधिवेशन महाधिवेशन रोक्न आग्रह गरिरहेछन् ।

ओली र नेपालको सहमतिमा बनेको कार्यदलले गरेको सहमति पार्टी अध्यक्ष के पी ओलीले सहर्ष स्वीकारेर सोहीबमोजिमको व्यवस्था गरिसक्दा पनि नेपाल त्यो पार्टी एकताको सहमति मान्न तयार नहुनु आश्चर्यजनक छ । दोश्रो तहका नेताहरूको सुझबुझपूर्ण पहलकदमी समेत लत्याएर गर्दा मेटमणी, रामकुमारी,विजय पौडेल,जगन्नाथजस्ता आलाकाँचा नेताको लहैलहैमा लागेर माधव नेपालजस्तो इतिहास भएको नेता रिङगिनु र एमालेको गति रोक्ने प्रयास हुनु नेपालको कम्युनिष्ट आन्दोलनको लागि विषतुल्य छ ।

उनलाई सधै बीचमा बसिरहने सुविधा हुदैन । उनलाई जनादेशविपरीत बनेको वर्तमान सरकारको पक्ष वा एमालेको पक्षमध्ये एक छान्नै पर्ने वाध्यता छ । जनविरोधी नै सही, देउवा सरकार पनि सधै माधव नेपाललाई कुरेर बस्न सक्दैन । त्यसरी नै आफ्ना अति आवश्यक काम रोकेर एमाले सधै माधव नेपालको बाटो हेरेर बस्न सक्दैन ।

एउटा यात्रु पहिलो पटक बसको यात्रा गर्न स्टेसन पुग्यो । बस यात्राका अनुभवीले उसलाई सिकाएका थिए- स्टेसनमा पुगेर उभिनू, परबाट गाडि आउँछ, हात उठाउँनू, बस रोक्छ अनि चढेर जानू । बस आयो, उसले हात उठायो । सह-चालकले करायो-छिटो चढ नत्र गाडि छुट्छ । उसले गाडि चढ्न विर्स्यो, हात उठाइरह्यो । सह-चालकले रिसाउदै भन्यो- गाडि चढ्ने कि नचढ्ने ? यात्रुले जवाफ दियो-धेरै निहुँ नखोज, म दिनभरि हात उठाइरहुँला र गाडि दिनभरि यहीं रोक्नु पर्ला !

माधव नेपालले यसरी हात उठाएर न सत्तापक्ष सधैं रोकिन्छ, न एमाले नै । बरू उनको पदीय जब्बर भोकको कारण श्रमजीवी जनतामाथि परेको कुठाराघातको हिसाबकिताव हुने नै छ ।