जनता टाइम्स

२८ श्रावण २०७८, बिहीबार ०८:३७

मनसुन थप सक्रिय, अबको एक हप्ता धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सर्तक रहन आग्रह


काठमाडौं, साउन २८।  मनसुन थप सक्रिय हुन थालेसँगै देशका पूर्वी क्षेत्रमा पानी पर्न थालेको छ । अहिले प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशका पूर्वी क्षेत्रमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।गएको २४ घण्टामा सुदूरपश्चिमका धेरै ठाउँमा ठूलो वर्षा भएको छ । बादल बिस्तारै बढिरहेकाले देशका प्रायः सबैजसो क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार अबको एक हप्ता नै देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेको छ ।

यसले गर्दा बाढी पहरोको जोखिम भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद्ले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रानसहितको बाढीको जोखिम रहेकाले नदीनाला र खहरे खोला आसपासका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिएका हुन् ।आउँदो बुधवार–बिहीवारसम्म नै देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ । यसकै कारण देशका सबैजसो क्षेत्रमा पानी पर्ने श्रेष्ठको भनाइ छ ।यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भएको छ ।

मनसुन भित्रिएको सुरुमा नै बाढी पहिरोको घटना बढेको थियो । सबैभन्दा धेरै बाढी पहिरोले सिन्धुपाल्चोक र मनाङमा नोक्सानी गरेको छ । नेपालमा जेठ २८ गते मनसुन भित्रिएको थियो ।गृह मन्त्रालयको तथ्याङ्क अनुसार गएको वैशाखदेखि साउन २५ गतेसम्ममा बाढी पहिरो र डुबानमा परेर ७० जनाको ज्यान गएको छ । पहिरोमा ३५, बाढीमा २९ तथा डुबानमा ८ जनाको ज्यान गएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।