जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार ०७:४०

अफगानिस्तान तालिवानको कब्जामा, राष्ट्रपति कार्यालय विद्रोहीको नियन्त्रणमा


काबुल, साउन ३२ । दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको छ । पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको हो । बिबिसीका अनुसार तालिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार राति नियन्त्रणमा लिएको छ । देशका ३४ मध्ये कम्तीमा २६ वटा प्रान्त कब्जा गरेको तालिवानले राजधानी काबुल घेरेपछि गृहमन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको जानकारी दिनुभएको थियो । तर, त्यसलगत्तै राष्ट्रपति असरफ घानी देश छाडेर भाग्नुभएको छ । घानी ताजिकिस्तानतर्फ उडेको जनाइएको छ ।

उच्चस्तरीय राष्ट्रिय मेलमिलाप परिषद्का अध्यक्ष तथा पूर्वराष्ट्रपति अब्दुल्लाह अब्दुल्लाहले ‘घानीले देश छाडिसकेको’ बताउनु भयो । उहाँसँगै उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छाडनुभएको छ । सन् २०१४ देखि अफगानिस्तानको राष्ट्रपति रहनुभएका घानी अर्थविद् हुनुहुन्छ । दुई वर्षअघि चुनावमा उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । सन् १९८३ देखि ८ वर्ष अमेरिकाका विश्वविद्यालयमा अध्यापन गर्नुभएका घानीले राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्न सन् २००९ मा अमेरिकी नागरिकता त्याग्नुभएको थियो ।

राष्ट्रपति देश छाडेर भागे पनि तालिवानले सत्ता हस्तान्तरण, संक्रमणकालीन सरकारको नेतृत्वलगायत विषयमा सरकारसँग वार्ता भइरहेकाले आफ्ना लडाकुलाई काबुलमा आक्रमण नगर्न निर्देशन दिएको छ । तालिवानले एक विज्ञप्ति जारी गर्दै काबुल छाड्न चाहने कसैलाई पनि नरोकिने जनाएको छ । ‘वार्ता कुनै टुंगोमा नपुग्दासम्म काबुलको शान्ति सुरक्षाको जिम्मेवारी सरकारको हुन्छ,’ तालिवान प्रवक्ता मुहम्मद सुहेल सहिनले अलजजिरासँग भन्नुभएको छ। उहाँले महिलाहरूलाई सुरक्षा दिइएका क्षेत्रतर्फ जान आग्रह गर्नुभएको छ ।

मिर्जक्वालका अनुसार तालिवान विद्रोहीहरूले राजधानी काबुललाई चारैतर्फबाट घेरिरहेका छन् । कतिपय लडाकु काबुल पसिसकेका छन् । काबुल छिर्ने क्रममा तालिवानलाई सरकारी फौजले कुनै प्रतिरोध गरेका थिएनन् । सहिनले सर्वसाधारलाई तालिवानसँग नडराउन आग्रह गर्नुभएको छ । ‘सरकारी फौजहरू बाहिरिएपछि हामी काबुल पस्न थालेका हौं ,’ उहाँले भन्नुभएको छ । तालिवानका अर्का प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्ना कतिपय लडाकु राजधानी काबुल पस्ने मुख्य नाकाहरूमा रोकिएको जनाउनु भएको छ ।

‘शान्तिपूर्ण तथा सन्तोषजनक रूपमा सत्ता हस्तान्तरण नभएसम्म हाम्रा सेना काबुलका नाकाहरूमा तयारी अवस्थामै रहिरहनेछन्,’ उहाँले भन्नुभयो । काबुलस्थित सांसद फर्जाना कोचाले ‘कतिपय मानिस राजधानीबाट भाग्न निकै हतारिएका र कतिपय घरभित्र लुकिरहेका’ जनाउनु भएको छ । ‘उनीहरू कतै पनि जान सक्दैनन्, कुनै ठाउँ बाँकी छैनन, ‘काबुलबाट भारत वा अन्य छिमेकी मुलुक जाने उडान भरिएका छन् । अन्यत्र जान चाहने यात्रुहरू अडकिएका छन,’ सांसद फर्जनाले भन्नुभयो ।

समाचार संस्था रोयटर्सले विमानस्थलसहित काबुलको सुरक्षा अवस्था अस्तव्यस्त भएको जनाएको छ । अफगान सरकारका मन्त्री, सरकारी कर्मचारीलगायत सयौं महिला तथा बालबालिका विमानस्थलमा उडानको पर्खाइमा रहेको रोयटर्सले जनाएको छ । ‘विमानस्थल नियन्त्रणबाहिर छ,’ एक सरकारी अधिकारीले भने । काबुलबाट उड्ने व्यावसायिक उडानहरू रोकिएपछि उनीहरू थप अन्योलमा परेका छन् । तालिवानले आइतबार बिहान मात्रै पूर्वी सहर जलालाबादलाई बिनासंघर्ष नियन्त्रणमा लिएका थिए । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको नेटो सेना बाहिरिएसँगै तालिवानले एकपछि अर्को सफलता हात पारेको हो ।

तालिवान काबुलतर्फ अगाडि बढेसँगै अमेरिका, बेलायत, भारतलगायत देशले आफ्ना कूटनीतिक नियोगका कर्मचारी र नागरिकलाई स्वदेश फर्काइरहेका छन् । आफ्ना कर्मचारी तथा नागरिक फर्काउन अमेरिकाले करिब ५ हजार सैनिक काबुल पठाएको छ । उसले दूतावासका कर्मचारी तथा केही नागरिकलाई सुरक्षित रूपमा अफगानिस्तानबाट बाहिर निकालेको जनाएको छ । दूतावास भवन भने तालिवानले नियन्त्रणमा लिएर अमेरिकी झन्डा हटाइदिएका छन् । त्यस्तै, बेलायतले पनि दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन ६ सय सैनिकलाई काबुल पठाएको छ । बेलायती राजदूत भने काबुलमै रहने जनाइएको छ ।

त्यसैगरी, स्विडेनले अफगानिस्तानस्थित दूतावासका सम्पूर्ण कर्मचारीलाई सोमबार स्वदेश फर्काउने जनाएको छ । स्विडेनले शुक्रबार मात्रै दूतावासका कर्मचारी घटाएको जनाएको थियो । क्यानडाले अफगानिस्तानस्थित दूतावासबाट सम्पूर्ण कामकारबाही स्थगित गरेको छ । क्यानडेली विदेश मन्त्रालयका अनुसार काबुलस्थित राजदूतसँगको कुराकानीपछि उक्त निर्णय लिइएको हो । मन्त्रालयले अफगानिस्तानमा अवस्था सामान्य भएपछि दूतावासले सेवा दिन थाल्ने जनाएको छ । अफगानिस्तानस्थित भारतीय दूतावासले आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्कन पटक–पटक आग्रह गरेको थियो । यसअघि मजार–ए–सरिफस्थित कन्सुलेट कार्यालय बन्द गरेको भारतले त्यहाँका कर्मचारी तथा नागरिकलाई मंगलबार विशेष जहाजबाट स्वदेश फर्काइसकेको छ ।

भारत सरकारका अनुसार अफगानिस्तानमा करिब १ हजार ५ सय भारतीय नागरिक छन् । तीमध्ये अधिकांश पुनर्निर्माण र विकाससम्बन्धी परियोजनामा काम गर्छन् । त्यस्तै, चीनले पनि विशेष विमान पठाएर आफ्ना नागरिकलाई उद्धार गरिसकेको जनाएको छ ।