जनता टाइम्स

६ भाद्र २०७८, आईतवार १८:१८

निषेधाज्ञामा आत्महत्या मात्रै ३९ प्रतिशत, यस्तो छ कारण



ओखलढुंगा, भदौ ६ । ओखलढुंगामा निषेधाज्ञाको समयमा भएका अपराधका घटनामा आत्महत्या सबैभन्दा बढी छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले गत २६ वैशाखदेखि लगाएको निषेधाज्ञा जारी छ । सक्रिय कोरोनासंक्रमितको संख्या दुई सयभन्दा बढी भएकाले निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा पनि अपराधका घटना भने घटेका छैनन् । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटनाको तथ्यांकले निषेधाज्ञामा सबैभन्दा बढी आत्महत्या भएको देखिएको छ ।

१५ वैशाखदेखि साउनसम्मको अभिलेखअनुसार विभिन्न १५ प्रकारका ५१ अपराधका घटना प्रहरीमा अभिलेख छन् । तीमध्ये ३९ दशमल २१ प्रतिशत अर्थात् २० घटना आत्महत्याका मात्रै रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । ‘जिल्लामा आत्महत्या अत्यधिक छ, एक हप्तामा लगातार चार दिनसम्म दैनिक एकजनाले आत्महत्या गरेको पाइयो,’ डिएसपी काफ्लेले भन्नुभयो । फुर्सदिलो, आर्थिक समस्या, पारिवारिक कलह, असफल प्रेम र यौन सम्बन्धलगायतका कारणले आतमहत्या बढिरहेको प्रहरीको निष्कर्ष छ ।

आत्महत्याबारे जिल्ला प्रशासन कार्यालयले विस्तृत अध्ययन गरेर प्रतिवेदनसमेत तयार गरेको छ । उक्त प्रतिवेदनमा पनि आर्थिक तथा सामाजिक समस्या, एक्लोपना, पारिवारिक कलह, प्रेममा धोका र यौनसम्बन्ध लगायतका कारण नै औंल्याइएका छन् । यसरी प्रतिवेदन नै आए पनि त्यसबारे स्थानीय तहले चासो नदिएको जिल्ला पैरवी सञ्जालका बोधनारायण श्रेष्ठले बताउनु भयो । ‘स्थानीय सरकार नागरिकको मानसिक स्वास्थ्यका समस्यामा गम्भीर देखिएन, स्वास्थ्योपचार र मनोपरामर्शका लागि कुनै कार्यक्रम नै ल्याएनन,’ श्रेष्ठले भन्नुभयो ।

जिल्लामा दैनिक बढीरहेको आत्महत्या रोकथाम गर्न मनोमरामर्श दिने र वडा तहमै मनोपरामर्शदाता राख्न सरोकारवालाहरुले माग गरेका छन् । यी विषयमा स्थानीय सकारका प्रमुखले प्रतिबद्धता जनाए पनि नीति तथा कार्यक्रममा भने समेटेका छैनन् । विभिन्न पारिवारिक समस्याका कारणले हुने मानसिक तनावका कारण पनि आत्महत्या बढी भएको भन्ने निचोड निकालिए पनि त्यस विषयमा स्थानीय सरकारले नीति तथा कार्यक्रममै समेटेर नागरिकको स्वास्थ्य र जीवनरक्षाका लागि काम गर्नुपर्ने गैरसरकारी संस्था महासंघका जिल्ला सचिव लिलाबहादुर सुनुवार बताउँछन् ।