जनता टाइम्स

७ भाद्र २०७८, सोमबार १६:१३

साउनमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा १४२ पीडित


काठमाडौं, ७ भदौ । साउन महिनामा एक सय ४२ जना मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाइएको छ । इन्सेकले यस अवधिमा एक सय आठ महिला र ३४ पुरुष गरी एक सय ४२ जना पीडित भएको जनाएको छ । सोमबार साउन महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले विभिन्न घटनामा परी राज्य पक्षबाट चार र अन्य पक्षाबाट एक सय ३८ जना पीडित भएका जनाएको हो ।

जसअनुसार प्रदेश २ मा ४९, प्रदेश १ मा २५ जना, लुम्बिनी प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा १७ जना, कर्णाली प्रदेशमा १५, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा ६/६ जना पीडित भए,’ इन्सेकले भनेको छ । पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुईवटा घटनाका सम्बन्धमा लेखिएका समाचार प्रकाशन गरिएको पनि विश्लेषणमा उल्लेख छ ।

यस अवधिमा एकजना मानव अधिकार रक्षकसहित नौजनालाई कुटपिट गरिएका, जातीय विभेदका घटनामा तीनजना, पुरुषलाई गरिएको यौन दुर्व्यवहारको घटनामा एकजना पीडित भएका र १५ जना घाइते भएका छन् । बालअधिकार उल्लंघनका घटनामा परी ५१ जना बालिका पीडित भए । अभिलेखित घटनाहरूमध्ये बलात्कारका घटनामा ३९ जना, यौन दुर्व्यवहारका घटनामा १० जना र बेचबिखनको घटनामा एकजना र बेचबिखन प्रयासको घटनामा एकजना पीडित भएको उल्लेख छ ।

त्यसैगरी, महिला अधिकार उल्लंघनका घटनामा ३९ जना पीडित भए । इन्सेकले गरेको विश्लेषणअनुसार बलात्कारका घटनामा २० जना, बलात्कार प्रयासका घटनामा पाँच जना, यौन दुर्व्यवहारका घटनामा तीनजना, जबरजस्ती यौन कार्यमा लगाएको घटनामा एकजना, एसिड प्रहारको घटनामा एकजना, बेचबिखन घटनामा चारजना ‘बोक्सी’ आरोपको घटनामा एकजना र घरेलु हिंसाका घटनामा तीनजना महिला पीडित भए ।