जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार ११:४२

राष्ट्रहितको संरक्षणका लागि जनताले विरोध गर्दा उल्टै नागरिकलाई नै धम्क्याउने गृहको अर्को विज्ञप्ति


काठमाडौं, भदौ २१ । मित्रराष्ट्रसँगको सम्बन्धमा आँच आउने गतिविधि बढेको भन्दै गृह मन्त्रालयले कारबाहीको चेतावनी दिएको छ । तीन दिनमै दुई विज्ञप्ति जारी गर्दै सरकारले प्रदर्शनका नाममा उच्छृंखल गतिविधि नगर्न सचेत गराएको हो । शुक्रबार जारी विज्ञप्तिमा मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्ष्य गरी प्रत्यक्ष र परोक्ष रूपमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिनेजस्ता गतिविधिको सूक्ष्म निगरानी गरिने उल्लेख थियो ।

आइतबार भने नेपाली आकाशमा अनुमतिबिना भारतीय हेलिकोप्टर उडाइएकोमा र तुइन घटनामा संलग्न एसएसबीका सुरक्षाकर्मीलाई कारबाही नभएको भन्दै भएका प्रदर्शन निरुत्साहित गर्न विज्ञप्ति जारी गरिएको हो । सत्ता गठबन्धन दल एकीकृत समाजवादीसम्बद्ध विद्यार्थी संगठनले काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएको थियो ।

पुतला दहनलाई गृह मन्त्रालयले उच्छृंखल र निन्दनीय भनेको छ । यस्ता गतिविधि हुन नदिन गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिपत्र गरेको छ । गृह प्रवक्ता पोखरेलले सबै विषय विज्ञप्तिमै उल्लेख गरिएको जनाउँदै कानुनविपरीत र शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउने गतिविधि नगर्न भनिएको बताए । संविधानको धारा १७ को उपधारा (१) मा कानुनबमोजिमबाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन भनिएको छ । त्यस्तै उपधारा २ (क) र (ख) मा विचार र अभिव्यक्तिको स्वतन्त्रता र ‘बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता’ रहने भनिएको छ ।

संविधानविद् टीकाराम भट्टराईले शान्तिपूर्ण विरोध/प्रदर्शन गर्न पाउने नागरिकको मौलिक हकलाई समाप्त पार्ने गरी गृहले धम्की दिएको टिप्पणी गनुर््हुन्छ । ‘विदेशी सुरक्षाकर्मीले तुइन खुस्काएर दार्चुलाका जयसिंह धामी नदीमा बेपत्ता भए, भारतीय हेलिकोप्टर अनधिकृत रूपमा नेपाली आकाशमा आयो, त्यसलाई रोक्नुपर्‍यो, जनताले विरोध गर्दा उल्टै नागरिकलाई नै धम्क्याउने ?,’ उहाँले भन्नुभयो , ‘यो लोकतन्त्रका लागि अशोभनीय हो ।’ उहाँले सरकार राष्ट्रिय शक्तिभन्दा विदेशी शक्ति रिझाउने गरी अघि बढेको प्रस्ट देखिएको बताउनुभयो ।

पूर्वसचिव जयमुकुन्द खनाल नागरिकका शान्तिपूर्ण विरोध प्रदर्शनलाई रोक्ने गरी गृह मन्त्रालयबाट जारी दुईवटै विज्ञप्ति संविधानप्रदत्त मौलिक हकविपरीत भएको बताउनुहुन्छ । ‘शान्तिसुरक्षा व्यवस्थापन र नागरिकको जीवनयापनमा प्रतिकूल गतिविधि रोकथाम तथा नियन्त्रणका लागि आन्तरिक र नियमित सर्कुलरबाहेक गृह मन्त्रालयबाट नागरिकका हकअधिकार नै कुण्ठित हुने यस किसिमका शब्द चयन गरेर आपत्ति, प्रतिक्रिया र विज्ञप्ति विगतमा आएजस्तो मलाई लाग्दैन,’ उहाँले भन्नुभयो , ‘विरोध तथा जुलुस प्रदर्शन राष्ट्रहितको संरक्षणका लागि भएको देखिन्छ तर खै कुन उद्देश्य राखेर मन्त्रालयबाट विज्ञप्ति आयो, मलाई पनि अचम्म लागेको छ ।’

कान्तिपुरबाट