जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार १७:२४

सशस्त्र प्रहरीको उत्कृष्ट मानवीय काम, रक्तदानबाट १२२२ प्रिन्ट रगत संकलन


काठमाडौं, भदौं, ६ । सशस्त्र प्रहरी बलले देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ। सशस्त्र मुख्यालय काठमाडौंलगायत देशका सबै प्रदेशहरुमा रहेका बाहिनी मुख्यालयहरुमा आज सशस्त्रले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

उक्त रक्तदान कार्यक्रममा सबै स्थानमा गरी १ हजार २ सय २२ पिन्ट रगत संकलन भएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृत, विल्लादार जवानहरु तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरुले समेत रक्तदान गरेका छन्।

सशस्त्र प्रहरी ऐन जारी भएको दिन पारेर गतवर्षबाट सशस्त्र प्रहरीले देशभर रहेका आफ्ना बाहिनी मुख्यालयहरु तथा प्रधान कार्यालयमा ‘सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रम’को आयोजना गर्न थालेको हो। यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले रक्तदान कार्यक्रममा सहभागिता जनाउने सबैप्रति आभार प्रकट गर्नुभएको छ । मानवीय सेवाका लागि आयोजित रक्तदानमा सहभागी भई संगठनका कर्मचारीले अत्यन्तै सकारात्मक काम गरेको उहाँको भनाई छ ।