janatatimes

१५ बैशाख २०८१, शनिबार ०७:४५

उपचुनाव: इलाम र बझाङमा मतदान सुरू


काठमाडौं, १५ वैशाख । इलाम र बझाङमा मतदान सुरु भएको छ । इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङ प्रदेश सभा १ मा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदाता भनेट हाल्न लाइन बस्न थालिसकेका छन् ।

इलाम–२ मा १९ जना चुनावी मैदान मा छन् भने बझाङमा ११ जना चुनावी मैदानमा छन् । इलामको प्रतिनिधि सभामा १२ राजनीतिक दलबाट १२ जना र ७ जना स्वतन्त्र उम्मेदवार बीच प्रतिस्पर्धा हुने छ भने बझाङको प्रदेश सभामा ११ राजनीतिक दलबाट ११ जन बिच प्रतिस्पर्धा हुने छ ।

साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् ।इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् । आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने बझाङ १ (क) ६१ हजार सात सय ४८ मतदाता छन ।

इलाममा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ भने बझाङमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । यसैवीच निर्वाचन आयोगले मतदानमा सहभागी हुन सम्बन्धित क्षेत्रका मतदातासँग अपिल गरेको छ ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको छ । आयोगले कुनै पनि अवाञ्छित गतिविधिबाट मतदान प्रभावित हुन नदिनेतर्फ सचेत रहेको जनाएको छ ।