जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार ०८:५४

मतदानपछि सुहाङको प्रतिक्रिया : निकै उत्साहित छु, जित्नेमा विश्वस्त छु


इलाम, बैशाख १५। इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सुरु भएको छ । मतदान गरेपछि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू निकै उत्साहित भएको बताउनु भएको छ ।

उहाँले घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको बताउनु भयो । निर्वाचनको परिस्थितिले भावुक बनाएको बताउँदै उहाँले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्नुभयो ।

इलाम २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा रहेको इलाम २ मा एक लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन ।