जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार ०९:३५

आज दिउसो नेपाल आउँदै चिनियाँ विदेशमन्त्री वाङ यी, यस्तो छ ४५ घन्टे ब्यस्थ कार्यतालिका


काठमाडौं, भदौ २२

चिनका विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा आज अपरान्ह काठमाडौं आउदै हुनुहुन्छ । उहा अपरान्ह ४ बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

तीन दिने बसाईका क्रममा उहाको महत्वपूर्ण भेटघाट भने सोमबार मात्र हुनेछ । काठमाडौंमा करिब ४५ घण्टा रहनु हुने विदेशमन्त्री वाङ सोल्टी क्राउन प्लाजा होटलमा बस्ने बताइएको छ । वाङले नेतृत्व गर्ने १५ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलले सोमबार नै राष्ट्रपति र प्रधानमन्त्रीसँग अपरान्ह भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।

परराष्ट्रस्रोतले दिएको जानकारी अनुसार सोमबार दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रतिनिधिमण्डलबीच होटल याक एण्ड यतीमा दुई पक्षीय वार्ता हुनेछ। त्यसलगत्तै दुई पक्षीय प्रतिनिधिबीचमा केही सम्झौताहरूमा हस्ताक्षर हुँदैछ।

सोमबार साँझ ५ बजेदेखि ५ः४५ बजेसम्म ४५ मिनेट वाङको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाको निवास बालुवाटारमा भेटवार्ता गर्ने छ। त्यसपछि विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शितल निवास जाने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँग वाङले बेलुकी ६ बजेदेखि ६ः४० बजेसम्म ४० मिनेट भेटवार्ता गर्ने बताइएको छ । आइतवारको कार्यतालिका भने कसैले पनि सार्वजनिक गरेको छैन ।

भदौं २४ गते विदेशमन्त्री वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। अध्यक्ष दाहालसँग बिहान ९ बजेदेखि ९ः३० बजेसम्म आधा घण्टा भेटवार्ता गरेपछि वाङको टोलीले देउवासँग ९ः३० बजेदेखि १० बजेसम्म आधा घण्टा भेट्ने कार्यसूची तय भएको छ। यद्यपी दुवै भेटको स्थान भने खुलाइएको छैन ।

वाङको प्रतिनिधिमण्डल मंगलबार दिउँसो १ बजे विशेष विमानबाट चीन फर्कने कार्यक्रम छ ।