जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार १९:४५

कांग्रेस नेता अफताव आलमसहित चार जनालाई जन्मकैद, देउवाको कसम काम लागेन


रौतहट, बैशाख १३ । रौतहटको राजपुरमा भएको आपराधिक घटनामा संलग्न नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसहित चार जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत रौतहटले आज यस्तो फैसला सुनाएको हो ।

जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आज पूर्वमन्त्री तथा कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको हो । जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन् ।

अदालतले घटनाका अभियुक्त बनाइएका मुक्ति साहलाई भने सफाइ दिएको छ । पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए । थुनछेक बहसपछि ०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । त्यसयता उनी नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा छन । अदालतले आज उनलाई जन्मकैदको फैसला सुनाएको हो । यो निर्णयसँगै रौतहटमै पुगेर आलमलाई जसरी पनि जेलबाट निकाल्ने कसम खानुभएका कांग्रेस सभापति शेरबहादुर देउवाको अठोट बेकार बनेको छ ।