जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार १०:४२

आइजीपी खनालको त्यो प्रमाण हरेपछि गृहमन्त्री बादलले दिए भाई नरेशलाई तत्कालै पक्राउ गर्न आदेश


आइजीपीले गृहमन्त्री र सचिवसहितको बैठकमा समिरमानको आपराधिक योजना राखेर नरेशको कनेक्शनबारे बताएपछि घटना गम्भीर प्रकृतिको देखियो, प्रहरी र गृह नेतृत्व निकै सतर्क बन्यो

गृहमन्त्री बादलका भाई नरेश थापा पक्राउ प्रकरण

काठमाडौं, भदौ २८ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संगठित अपराध र आपराधिक लाभ (एक्सटर्सन) को मुद्दामा पक्राउ गरको गृहमन्त्री रामबहादुर थापा, बादलका भाइ नरेश थापाससहितका आठ जनासँग अदालतमा बयान लिने क्रममा घटना झनै रहस्यमय बनेको छ । पक्राउ परेका आठमध्ये तीन जनाको जिल्ला अदालत काठमाडौंमा बयान शुक्रवार सकिएको छ भने बाँकी पाँच जनाको बयान भोलि आइतबार हुनेछ ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले तीन जनाको बयान सकिएको र अन्यको आइतबार हुने जानकारी दिनुभयो । रेग्मीका अनुसार गृहमन्त्रीका भाइ नरेशसहित पाँच जनाको बयान आइतबार हुने छ । सिआइवीले हत्यासम्बन्धी मुद्दामा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँगको मिलिमतोको आधारमा गृहमन्त्री थापाका भाइ नरेशसहित आठ जनालाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । सीआईबीका अनुसार यो घट्ना झन्डै ७० दिनदेखि गोप्य रूपमा छानबिन हुँदै आइरहेको थियो । सोही आधारमा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी नियन्त्रणमा लिइएको सिआइवीले जनाएको छ ।

सीआईबीका अनुसार उनीहरूलाई निर्माण व्यवसायी महासंघका तात्कालीन अध्यक्ष शरद गौचनको हत्या गरेको अभियोगमा थुनामा रहेका गुन्डा नाइके बस्नेतसँग मिलेमतो गरी फिरौती असुली गरेको अभियोग लगाइएको छ । गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यो बिषयमा पटक पटक छलफल गरी नरेशलाई पक्राउ गरिएको थियो । गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका अनुसार सो क्रममा गृहमन्त्री थापाले घटनामा दोषी देखिए जोसुकैमाथि पनि कारबाही गर्न निर्देशन दिनुभएको थियो ।

प्रहरी महानिरीक्षक खनालले घटना निकै गम्भीर प्रकृतिको रहेको प्रष्ट पार्दै अपराध नियन्त्रणका लागि नरेशलाई पक्राउ गर्नै पर्ने प्रमाणसहितको तथ्य प्रस्तुत गरेपछि गृहमन्त्री थापाले सो निर्देशन दिनुभएको हो । ‘गृहमन्त्रीलाई यस प्रकरण सुरु हुनासाथ जानकारी आएको थियो । उहाँले सत्यतथ्य पत्ता लगाएर कारबाही गर्न प्रहरीलाई निर्देशन दिनुभएको हो,’ सुरक्षा सल्लाहकार राईले भन्नुभयो । राईले गृहमन्त्री, गृहसचिव र आईजीपी बसेर नै यो घटनाको सत्यतथ्य छानबिन गर्ने निर्णय भएको जानकारीसमेत दिनुभयो । नरेशले कारागारमै पुगेर बस्नेतसँग भेट गरेको र गृहमन्त्रीलाई गरिएको ब्रिफिसमेत बस्नेतलाई सुनाएको प्रमाणपछि यो घटनामा नरेहलाई पक्राउ गरिएको थियो ।

गृहमन्त्रीका भाइ नरेशले भने आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर गुण्डा नाइके बस्नेतलाई भेट गरेको इन्कार गरेका छन् । प्रहरीसँगको बयानमा उनले आफूले समीरमानलाई चिन्दै नचिनेको बयान दिएका हुन । उनले इन्कारी बयान दिएपनि केन्द्रीय कारागारमै पुगेर बस्नेतलाई नरेशले भेट गरेको प्रमाण प्रहरीले फेला पारेको छ । बस्नेतले काठमाडौंमा हाइप्रोफाइलमाथि आक्रमण गरी आइजीपी खनाल र गृहमन्त्री थापालाई नै पदच्यूच गराउने योजनासमेत रहेको पाइएपछि गृहमन्त्री र आइजीपी गम्भीर बन्नुभएको हो ।

‘आइजीपीले गृहमन्त्री र सचिवसहितको बैठकमा समिरमानको आपराधिक योजना राखेर नरेशको कनेक्शनबारे बताएपछि घटना गम्भीर प्रकृतिको देखियो, प्रहरी र गृह नेतृत्व निकै सतर्क बन्यो,’ गृह मन्त्रालयका एक अधिकारीले जनताटाइम्ससँग भने । उनका अनुसार यसअघि पनि गृहमन्त्री थापाको नाम बेचेर चलखेल भएपछि आइजीपी खनालले गृहमन्त्रीको सचिवालयका एक अधिकृत नै हटाउन लगाउनु भएको थियो । ‘आइजीपी अरु जस्तो देखिएनन, प्रहरी सरुवामा चर्काे दवाव दिएपछि गृहमन्त्रीलाई ब्रिफिङ गरेर उपसचव तहका अधिकृतलाई नै सचिवालयबाट हटाउन लगाएका थिए,’ गृहका ती अधिकारीले जनताटाइम्ससँग भने ।

आइजीपी खनालले हरेक बिषयमा प्रमाणहित गृहमन्त्री थापालाई ब्रिफिङ गर्ने गरेको कारण भाइकै संलग्नताको बिषयमा गृहमन्त्री निकै गम्भीर बन्नुभएको स्रोतले बतायो । आइजीपी खनालको त्यही सूचनाकै आधारमा बस्नेत समुहले राजधानीमा घटाउन बनाएको ठुलै योजना असफल बनेको छ । केन्द्रीय कारागारमा रहेका बस्नेतले जेलबाटै आपराधिक गतिविधि बढाएको भन्दै केही समय मुस्ताङ कारागारसमेत लगिएको थियो । तर, उनलाई केही समयपछि पुनः काठमाडौं केन्द्रीय कारागार नै ल्याइएको होे । अदालतबाट यो अभियोग प्रमाणित भएमा मुलुकी अपराध संहिता २०७४ को दफा २५३ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था हुनेछ ।