Untitled Document

मेलम्चीको पानी चैत १५ सम्म राजधानीमा ल्याउने तयारी

काठमाडौँ, १२ माघ

मेलम्चीको पानी चैत १५ सम्ममा राजधानीमा ल्याउने तयारी भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएकोले चैत १५ सम्म पानी राजधानीमा आइसक्नेछ ।

यसैगरी ६७० किमी वितरण सञ्जालमध्ये ६४४ किमी पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताउनुभयो ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलसम्मको २७।५ किमी दूरी सुरुङमध्ये अब ३०० मिटर मात्र खन्न बाँकी छ ।

सुरुङको ३०० मिटरको काम सकेरभित्रको कामलाई अन्तिमरुप दिई चैत १५ अर्थात् मार्चको अन्तिमसम्ममा पानी उपत्यकामा खसाल्ने मेलम्ची खानेपानी आयोजनाको लक्ष्य छ । उपत्यकामा पानी वितरण गर्न ८४ हजार २१७ घरमा धारा जडान गर्नुपर्नेमा हालसम्म ४५ हजार १८६ घरमा धारा जडान भइसकेको प्रवक्ता ढकालले बताउनुभयो ।

सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि अत्याधुनिक प्रशोधन केन्द्र निर्माण भइसकेको छ । अर्को आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७÷१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ ।

January 26, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *