जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार १६:५५

को–को छन आलमलाई जोगाउनेहरु ? यस्तो छ सूची


काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई रौतहटको राजापुर बमकाण्डमा सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी र छानविन अघि बढाएको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएसँगै घटना भएदेखि अहिलेसम्म रौतहटको नेतृत्व गर्ने सवै प्रहरीदेखि कर्मचारीसम्ममाथि निगरानी बढाइएको हो ।

राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको एआइजी पुष्कर कार्कील जानकारी दिनुभएको छ । एआइजी कार्कीका अनुसार प्रहरी प्रधान कार्यालयले नै रौतहट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा चल्ने भएकाले उसलाई चाहिने प्राविधिकसँगै अन्य सहयोग उपलब्ध गराइरहेको छ । ‘यो घटना दबाउने जो कोही व्यक्ति उम्किन पाउँदैनन, पीडितले न्याय पाउने गरी अनुसन्धान हुन्छ’, कार्कीले भन्नुभयो, ‘रौतहट प्रहरीलाई आवश्यक समन्वय र सहयोग भइरहेको छ, आइजीसापले नै यस्को नेतृत्व गर्नुभएको छ ।’

घटना अनुसन्धानमा भएका प्रगतिबारे डीआईजी कार्की र एसपी खत्रीसँग दैनिक सोधपुछ गरिरहेको उहाँले जानकारी दिनुभयो । कार्कीका अनुसार केन्द्रबाट घटना अनुसन्धानको सूक्ष्म सुपरिवेक्षण भइरहेको छ। प्रहरी मुख्यालयले घटना अनुसन्धान नगरी आलमलाई सहयोग पुर्याउने बहालवाला र पूर्वप्रहरी अधिकृतमाथि आवश्यक परे बयान लिन रौतहट प्रहरीलाई निर्देशन दिइसकेको छ छ । ‘यो वा त्यो नभनी तत्कालीन समयमा रौतहटमा बसेका प्रहरी अधिकृतलाई किन अनुसन्धान नगरेको भनेर सोधपुछ गर्न भनिएको छ’, महानिरीक्षक सचिवालयका एक अधिकृतले जनताटाइम्ससँग भने, ‘सोधपुछ गर्न बोलाउँदा नमाने पक्राउ गरेरै लैजान निर्देशन भएको छ ।’

ती अधिकृतका अनुसार कसको दबाबमा तत्कालीन अपराध लुकाउने प्रयास गरियो भनेर सोधपुछ केन्द्रित हुनेछ । घटना हुँदा रौतहटमा लक्ष्मण न्यौपाने प्रहरी प्रमुख हुनुहुन्थ्यो । न्यौपानेलाई टीकापुर हत्याकाण्डमा मारिएको थियो । रौतहट घटनाबारे जानकार न्यौपानेले घटना बाहिर ल्याउने आशंकामा टिकापुर काण्डमा मारिएको हो कि भन्ने आशंका समेत पछिल्लो समय गर्न थालिएको छ । भालाले घोचेर न्यौपानेको हत्या गरिएको थियो । न्यौपानेपछि जयबहादुर चन्द, घनानन्द भट्ट, पीताम्बर अधिकारी, घनश्याम अर्याल, ठूले राई, मोहनविक्रम शाह, गोविन्द परियार, सानुबाबु थपलिया, प्रद्युम्न कार्की, गणेश रेग्मी, यज्ञविनोद पोखरेल, रवीन्द्र केसी, केदार ढकालले रौतहट प्रहरीको नेतृत्व गर्नुभएको थियो । बाह्र बर्षसम्म घटना लुकाएर राखेपनि सर्वोच्चको आदेशपछि अहिले आलमलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

सर्वोच्च अदालतको आदेशपछि तत्कालीन एसपीहरू अर्याल, राई, शाह, परियार, थपलिया, कार्की, रेग्मी, पोखरेल, केसी र ढकाले रौतहट प्रहरी प्रमुखको नेतृत्व सम्हाल्नु भएको थियो । यीमध्ये कार्की हाल प्रदेश नम्बर २ का प्रहरी प्रमुख हुनुहुन्छ । आलम पक्राउमा कार्कीकै प्रत्यक्ष समन्वय र निर्देशन छ । कार्कीले रौतहट प्रमुख हुँदा घटनालाई अघि बढाउन नसके पनि अहिले भने राजनीतिक दवाव नभएकोले कार्वाही गरेरै छाडने अठोट लिनुभएको छ । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजापुर फरहदवा गाउँमा बम विस्फोट भएको थियो । त्यसमा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप आलमलाई लागेको छ ।

घटनास्थल रौतहट भएकाले जिल्ला प्रहरी कार्यालयले आलमलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । कांग्रेसबाट निर्वाचित सांसदसमेत रहेका आलमविरुद्ध दुई जनाले किटानी जाहेरी दिएका थिए । पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरको हत्या गरेको आरोप उनीमाथि छ । थुप्रै घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप लागे पनि कति जना भन्ने यकिन अझै हुन सकेको छैन । घटना दबाउन केन्द्रदेखि जिल्लासम्मका प्रहरी–प्रशासन र राजनीतिक नेतृत्वको संलग्नता रहेको आशंका प्रहरीको छ । तत्कालीन प्रहरी नेतृत्व र उच्च राजनीतिक तहकै दबाबमा प्रहरीले घटना लुकाएको आरोप छ ।

प्रहरीकै प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयको सिफारिसमा महान्यायाधिवक्ता कार्यालयले थप कानुनी प्रक्रियामा गइरहनु नपर्ने निर्णय गरेपछि अनुसन्धानले पूर्णबिराम लिएको थियो । २०६४ चैत २७ गते स्थानीय शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । उक्त घटनासम्बन्धी प्रतिवेदन प्रहरीले २०६५ असार ९ गते रौतहट सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले असार ३० गते आरोपितविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । त्यसपछि पीडितले सर्वोच्च अदालत गुहारेको थियो । सर्वोच्चले २०६९ जेठ १६ मा महान्यायाधिवक्ताको निर्णय बदर गरी सुरुबाटै अनुसन्धान गर्न आदेश दिएको थियो । तर राजनीतिक पहुँचका आधारमा सर्वाेच्चको फैस्लापछि पनि सात बर्षसम्म अनुसन्धान नै गर्न दिइएको थिएन ।