जनता टाइम्स

१९ कार्तिक २०७६, मंगलवार १४:०३

बेलायतमा भ्रमण बर्ष सफल बनाउन यसरी जुटे पर्यटनमन्त्री भट्टराई


काठमाडौं, कात्तिक १९

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई विश्वभरका पर्यटन व्यवसायीहरुको एउटा कुम्भ मेला वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) मा भाग लिन बेलायत पुग्नुभएको छ । उहाँ यस समयमा नेपाल पर्यटन प्रवर्द्धन गर्न व्यस्त हुनुहुन्छ । लन्डनस्थित एक्सेल एक्जिबिसन सेन्टरमा सुरु वर्ल्ड ट्राभल मार्केटमा हिजो सहभागी हुनुभएको थियो ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीसहित एक्सेल पुग्नुभएको मन्त्री भट्टराईले मेलाको पहिलो दिन नेपाली स्टलहरुमै बसेर अवलोकन तथा प्रचारप्रसार गरेको दूतावास स्रोतले जनाएको छ । उहाँले आयोजक संस्थालाई अन्तर्वार्ता दिंदै नेपाल पर्यटनबारे अवगत समेत गराउनुभएको थियो ।

उहाँले बेलायतीहरूलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको छ । ४ देखि ६ नोभेम्बरसम्म चल्ने उक्त प्रदर्शनीमा विश्वका १८२ देशबाट ५ हजार बढी प्रदर्शनीकर्ता र ५१ हजार सहभागी छन् । यसमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाली पर्यटन व्यवसायीसमेत संलग्न रहेका छन् । उहाँले आजै लन्डनस्थित नेपाली दूतावासमा आयोजित पर्यटन प्रवर्द्धन साँझलाई सम्बोधन गर्नुहुनेछ ।

यसअघि मन्त्री भट्टराई एनआरएनए यूकेद्वारा आयोजित अन्तक्रियामा सहभागी हुनुभएको थियो । कार्यक्रममा मन्त्रीले नेपाली विमानलाई युरोपमा उडान अनुमति दिन युरोपेली संघ (ईयू) सँग छलफल भइरहेको समेत जानकारी दिनुभएको थियो । मन्त्री भट्टराईले युरोपेली राष्ट्रमा रहेका नेपाली नियोगमार्फत् प्रतिबन्ध हटाउन कूटनीतिक प्रयास भइरहेको पनि बताउनुभयो ।

दुई वर्षअघि अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले नेपाललाई कालो सूचीबाट हटाए पनि युरोपेली संघले सन् २०१३ मा नेपाली विमान सेवाहरुलाई लगाएको प्रतिबन्ध कायमै छ । कार्यक्रममा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आग्रह गर्दै यो अभियान एक वर्षमात्र नभई एक दशकसम्म निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । नेपाल भ्रमण वर्षमा नेपाल घुम्ने पर्यटक संख्या २० लाख पुर्याउने लक्ष्य सरकारको छ ।

पर्यटन मन्त्रीले यसै अभियानलाई सहयोग पुग्ने गरी तीनजना सद्भावना दूत तोक्ने समेत जनाइएको छ । बेलायतको उपल्लो सदन हाउस अफ लर्डसमा बिहीबार एक कार्यक्रमबीच सद्भावना दूत र बेलायती पर्वतारोही एवं पर्यटन व्यवसायीलाई सम्मान कार्यक्रम तय छ । बेलायतबाट गत वर्ष ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

लन्डनस्थित राजदूत सुवेदीले यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्र्याइने दाबी गरेका छन् । दूतावासबाट एकैदिन होम डेलिभरी भिसा सर्भिस, बेलायतमा पर्यटन प्रवर्द्धन र नेपालको राम्रो वातावरणले पर्यटक बढेका राजदूतको भनाइ छ । त्यस्तै लन्डन सहरमा चल्ने आइकोनिक रातो रंगका बसहरुमा नेपाल प्रवर्द्धन सामग्री राखेर प्रचार तीव्र पारिएको छ ।

हिजोदेखि नै ३ सातासम्म राता बसमा प्रवर्द्धन जारी राखिने बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले लन्डनमा दोस्रो पटक नेपाल भ्रमण वर्ष लक्षित यस्तो प्रभावकारी उपाय अपनाएको हो । विश्वकै सबैभन्दा बृहत पर्यटन मेला (वर्ल्ड ट्राभल मार्केट) मा भने बोर्डको पहिलो प्रयास हो ।