जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार ०७:३१

बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्किँदै, राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने


काठमाडौं, कात्तिक २९ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किँदै हुनुहुन्छ । स्वदेश फर्किनुअघि उहाँले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्ने कार्यक्रम तय भएको छ । उहाँ शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर जाने कार्यतालिका रहेको छ ।
भ्रमणका लागि गत मंगलबार काठमाडौं आउनु भएका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार स्क्वायर चाख मानेर अवलोकन गर्नुभएको थियो ।
बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका उनी बिहीबार भने पोखरामा चार घन्टा विताएर हिजोनै काठमाडौं फर्कनु भएको थियो । उहाले पोखराको फेवातालमा डुंगा सयर गरे भने रुपाकोट रिसोर्टबाट प्राकृतिक सुन्दरता अवलोकन गर्नु भएको थियो ।

राष्टपति हमिद आज शुक्रबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र करिब पाँच बजे त्यहाँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ । उहालाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । हमिद गत मंगलबार नेपाल आउँदा पनि राष्ट्रपति भण्डारीले नै स्वागत गर्नुभएको थियो ।