Untitled Document

अमेरिकामा हुने बौद्धिक सम्मेलनले नेपालको आर्थिक सम्बृद्धिमा टेवा पुग्नेछ : गौरी राज जोशी, अमेरिकाज् क्षेत्रिय संयोजक, एनआरएन (अन्तर्वार्ता )

एनआरएनले पहिलो पटक यही जुन १६ र १७ गरि दुई दिनसम्म अमेरिकामा बौद्धिक सम्मेलन आयोजना गरेको छ । क्यालिफोर्निया सनफ्रान्सिस्को स्थित होटल डलव ट्रिमा हुने सम्मेलन नजिकिएको छ । सम्मेलन नजिकिएसँगै त्यसको तयारी पनि तीब्र पारिएको आयोजनकले जनाएको छ । त्यसै विषयमा केन्द्रित भएर हामीले अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशीसँग कुराकानी गरेका छौ । प्रस्तुत छ, संयोजक जोशीसँग जनता टाईम्सले गरेको कुराकानीको सम्पादीत अंश ;

अमेरिकामा हुन लागिरहेको एनआरएनको बौद्धिक सम्मेलनको तयारी कहाँ पुग्यो ?

सम्मेलन यही जुन १६ र १७ गरि दुई दिनसम्म हुँदैछ । सम्मेलन क्यालिफोर्निया सनफ्रान्सिस्को स्थित होटल डलव ट्रिमा हुने सम्मेलन नजिकिएसँगै त्यसको तयारी पनि तीब्र रुपमा भइरहेको छ । एनआरएनको आयोजनामा अमेरिकाको सानफ्रान्सिस्को सहरमा हुने सम्मेलनको लगभग तयारी अन्तिम चरणमा पुगिसकेको छ ।

पहिलो पटक यस्तो सम्मेलन गर्दै हुनुहुन्छ । सम्मेलन गर्नुको मुख्य उद्देश्य बारेमा स्पष्ट पारिदिनुस् न ?

एनआरएन अमेरिकाज क्षेत्र र गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए)को संयुक्त आयोजनामा पहिलो पटक यस्तो बौद्धिक सम्मेलन हुन लागेको हो । नेपालको आर्थिक सम्बृद्धिमा टेवा पुरयाउनका लागि आर्थिक लगानी सँगै अमेरिका लगायत विभिन्न मुलुकमा बस्ने नेपालीहरूले आफ्नो बौद्धिक क्षमताको प्रयोग, सदुपयोग गर्न सकुन् भन्ने उदेश्य हो । विशेष गरि यो सम्मेलन बौद्धिक ब्यक्तित्वको भेला नै हो भन्न सकिन्छ । नेपालमा उच्चशिक्षा हासील गरेका, नेपालमा आफ्नो जिन्दगीका महत्वपूर्ण समय बिताएका धेरै महानुभावहरु अहिले मुलुक बाहिर रहेको अवस्थामा विकसित मुलुकको बिज्ञान, प्रबिधी, पोलिसी लेभल, सामाजीक अवस्थाको समेत अनुभव लिदै नयाँ खालको बिज्ञता हासिल गर्ने यसको मुख्य उद्देश्य हो । संसारभरि रहेको नेपालीको ज्ञान र सिपलाई आफ्नो देशमा कसरी फर्काउने सकिन्छ र नेपालको आर्थिक सम्बृद्धिमा टेवा पुरयाउँन सकिन्छ भन्ने नै हो ।

सम्मेलनमा कुन कुन विषयमा छलफल हुन्छ ?

सम्मेलनमा विविध विषयमा छलफल हुनेछ । विशेष गरि पूर्वाधार बिस्तार, वातावरण, स्वास्थ्यसेवा, अर्थनीति लगायत विभिन्न विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । विशेषगरी ५ वटा क्षेत्र छुट्याएर कार्यपत्र प्रस्तुत गरिनेछ । एनर्जी एण्ड इम्फ्रास्टक्चर, हेल्थ एण्ड मेडिसिन, साइन्स एण्ड टेक्नोलोजी, युथ इम्प्लोइमेन्ट उमेन इम्पावरमेन्ट एण्ड इन्टरपेनरसिप, पोलिसि फर गुड गभरनेन्स, इन्क्लुसिभ ग्रोथ, फिस्कल रिफर्म एण्ड इकोनोमिक ट्रान्सफर्मेसन एण्ड डिभलपमेन्ट लगायत विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दै बृहत् छलफल गर्नेछन् । त्यसपछि तयार भएको सान्फ्रान्सिस्को घोषणा पत्रका बुँदाहरुलाई नेपालको नीतिगत तहमा कसरी सम्बोधन गरिने भन्नेबारे गृहकार्य गरिनेछ ।

सम्मेलनको कार्यतालिका कसरी तय गर्नुभएको छ ? 

नेपालको विकास र समृद्धिमा विदेशमा कार्यरत नेपाली बौद्धिक समुदाय कसरी संलग्न हुन सक्छ भन्ने विषयमा सम्मेलनको पहिलो दिन छलफल हुने छ । यस पछि एनआरएन अमेरिकाको साधारण सभा हुने छ । नेपालमा गर्न सकिने र तत्कालका आवश्यकता देखिएका स्वास्थ्य, पुर्वाधार, विकास, जस्ता क्षेत्रका विज्ञहरुले आफ्ना धारणाहरु राख्नुहुने गरि कार्यक्रम तय गरेका छौ ।

सम्मेलनमा कहाँकहाँबाट को को सहभागि हुदैछन् ? 

सम्मेलनमा अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर सम्मेलन गर्न लागिएकाले विशेष गरि यसै क्षेत्रभित्र रहेको नेपालीहरु जस्तो अमेरिका क्षेत्र अन्तरगत एनआरएन चिली, एनआरएन ब्राजिल, एनआरएन क्यानडा र एनआरएन अमेरिकाको सहभागिता रहनेछ । नेपालबाट मन्त्री, सांसद, राजनीतिक दलका नेता तथा व्यवसायीहरू पनि आउने कार्यक्रम तय भइसकेको छ ।

सम्मेलनमा नेपालबाट पर्यटन मन्त्री रवीन्द्र अधिकारी, एमाले सांसद कृष्णभक्त पोख्रेल, पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीलगायत सहभागि हुनुहुनेछ । सम्मेलनमा गैर आवासीय नेपाली सङ्घ अन्तर्रा्िष्ट्रय समन्वय परिषद् (एनआरएन आइसिसि)बाट पूर्व अध्यक्षहरू उपेन्द्र महतो, जीबा लामिछाने, शेष घले, आईसीसीका हालका अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरू कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, महिला उपाध्यक्ष सफिला राजभण्डारी, आईसीसी सल्लाहकार हेमराज शर्मा लगायतको सहभागिता रहनेछ ।

साथै क्यालिफोर्नियाका कंगेसमेन रो खन्ना, अबैतनिक राजदतुहरु, नेपाल सरकारका राजदूत तथा बाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौद्धिक व्यक्तिहरू सहभागी हुनुहुनेछ । सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, राजनीतिज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका चुनौती र सफलताको बारेमा छलफल गर्नेछन् ।

June 8, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *