जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार १०:११

१५ किलो सुन बरामदमा प्रहरीको गम्भिर लापवार्ही, वारदात स्थल समेत परिवर्तन


काठमाडौं, साउन १५ । प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी नेपाल प्रहरीको अनुसन्धान विवादमा तानिएको छ । यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भिर त्रुटी देखिएको छ ।

प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

समिति स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालले (घटना भएको स्थान) वारदात स्थल समेत परिवर्तन गरेर माथिल्लो निकायलाई सत्यतथ्य जानकारी नदिएको पाइएको छ । यसमा उनी एक्लै संलग्न हुन् वा अन्य पनि छन् भन्ने विषय खुलिसकेको छैन । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीस्थित नबिल बैंक अगाडि सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको उल्लेख गरेका थिए ।

तर, छानविन समितिले हेरेको त्यसक्षेत्रको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा त्यहाँ प्रहरीले बताए अनुसारको घटनाक्रम देखिएको छैन । न त त्यसक्षेत्रका सर्वसाधारणलाई घटनाबारे जानकारी छ । बरु केहीसँग लिइएको बयानबाट घटनास्थल सुन्धारा हुनसक्ने देखिएको एक प्रहरी स्रोतले जनाएको छ ।
सुन्धारा दरबारमार्ग प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन । डीएसपी दाहालले सुन्धारा पुगेर अपरेशन गर्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवालीलाई त्यसबारे जानकारी दिएको नपाइएको स्रोतले जनाएको छ ।

एसएसपी ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमै बा ६ च ५५१९ नम्बरको स्कर्पियो गाडी फरार भएको सार्वजनिक गरेका थिए ।

गाडीबाट फ्याँकिएको झोलामा १५ किलो सुन जस्तो देखिने धातु बरामद भएको ज्ञवालीको भनाइ थियो । बरामद धातु परीक्षणपछि साढे १४ किलो चाँदी र आधा किलो मात्र सुन भएको पुष्टि भएको थियो । तर गाडीलाई किन पक्राउ गरिएन वा नाकामा किन छिटो खवर गरिएन । त्यति मात्र होइन, घटनालगत्तै दिइएको सवारीसाधनको नम्बर पनि गलत रहेको पाइएको छ । थापाथलीस्थित ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको नम्बर बा ६ च ५५११ थियो । जबकी, त्यो नम्बरको गाडी कैलालीमा रहेको व्यक्तिको भएको पाइएको यातायात व्यवस्था कार्यालयको रेकर्डले देखाएको थियो ।

पछि ५५१९ नम्बरको गाडी बाराका इन्साद हुसेनको भएको पाइएको थियो र त्यसबाट थप अनुसन्धान सुरु भएको थियो । गाडीबारे नाकामा कार्यरत प्रहरी अधिकृतलाई पनि ढिलो गरी मात्र रिपोर्टिङ भएको पाइएको छ ।

‘भाग्ने वित्तिकै खबर गरेको भए पनि चेकपोइन्ट राखेर समातिहालिन्थ्यो, उम्किन सक्ने ठाउँ रहँदैनथ्यो’, अनुसन्धानमा खटिएका एक अधिकृतले बताए ।

यी र यसका पछाडी काठमाडौं प्रहरी र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको नियत थियो वा लापरबाही मात्र भन्ने विषयमा चाहिँ छानविन समितिको अन्तिम प्रतिवेदन तयार भए नै निष्कर्षमा पुग्न सकिने समितिको दावी रहेको छ ।