जनता टाइम्स

१४ बैशाख २०८१, शुक्रबार ०९:५३

कस्ता छन रोहितको कप्तानीमा वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपालका १६ खेलाडी ?


काठमाडौं, बैशाख १४ । वेस्ट इन्डिज ‘ए’विरुद्धको ऐतिहासिक शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रशिक्षक मोन्टी देसाईले एसिसी प्रिमियर कप खेलेको टोलीमा आरिफ शेख थप्नुभएको छ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँच खेलको टी–२० शृंखला भोलि अर्थात बैशाख १५ गतेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ । नेपालमा पहिलो पटक आएको वेस्ट इन्डिजमा टेस्ट, एकदिवसीय र टी–२० खेलेका अनुभवी खेलाडी छन । टोलीको कप्तानी ४९ टेस्ट खेलको रोस्टन चेजले गर्नुहुनेछ । नेपाली खेलाडी पनि अनुभवी नै छन ।

रोहितकुमार पौडेल (कप्तान)
वेस्ट इन्डिजविरुद्धको सिरिजमा कप्तानीको अवसर पाएका रोहित अन्तर्राष्ट्रिय टी–२० आईमा नेपालका लागि उच्च रन बनाउने दोस्रो खेलाडी हुन । नेपाललाई दोस्रोपटक टी–२० विश्वकपमा स्थान बनाउन महत्वपूर्ण भूमिका खेलेका रोहित २०१९ देखि राष्ट्रिय टोलीबाट खेलिरहनुभएको छ । उहाँले ४९ खेलमा १ हजार आठ रन बनाउनु भएको छ । ९० चौका र ३४ छक्का प्रहार गर्नुभएका रोहितको स्ट्राइक रेट १२४.९१ छ ।

दीपेन्द्रसिंह ऐरी
अन्तर्राष्ट्रिय टी–२० आईमा ऐरीले पछिल्लो समय अद्भुत प्रदर्शन गर्नुभएको छ । उहाँको नाममा कम बलमा अर्धशतक र ६ बलमा ६ छक्का प्रहार गरेको रेकर्ड छ । २४ वर्षीय ऐरी टी–२० आईमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन । २०१८ देखि टोलीमा रहेका उहाँले ६४ खेलको ५६ इनिङ्समा १ हजार ६ सय २६ रन बनाउनु भएको छ । उहाँले १२६ चौका र ६८ छक्का प्रहार गरेका छन् । ऐरीको स्ट्राइक रेट १४६.७५ रहेको छ । उहाँले एक खेलमा ११० रनको शतकीय इनिङ खेल्नुभएको छ ।

कुशल भुर्तेल
भुर्तेल कुसल स्पिनर हुन । पछिल्लो समय ओपनर भुर्तेल खराब फर्ममा चले पनि वेस्ट इन्डिजविरुद्धको सिरिजमा स्थान पक्का गर्नुभएको छ । ओमानमा भएको एसिसी प्रिमियर कपमा उहाँको प्रदर्शन फितलो रह्यो । उहाँ टी–२० आईमा नेपालका लागि उच्च रन बनाउने तेस्रो खेलाडी हुन । २०२१ मा डेब्यु गरेपछि भुर्तेलले ४३ खेलमा एक हजार ८१ रन बनाउनु भएको छ । कुशलले एक खेलमा १०४ रनको शतकीय इनिङ्स खेल्नुभएको छ । अहिलेसम्म उहाँले ११० चौका र ४६ छक्का प्रहार गर्नुभएको छ ।

आसिफ शेख
पछिल्लो समय भुर्तेललाई ओपनिङमा आसिफ शेखले राम्रो साथ दिँदै आइरहनु भएको छ । धैर्यपूर्वक ब्याटिङ गर्न रुचाउने शेख आक्रामक रूपमा प्रस्तुत हुन्छन । उहाँले ४४ टी–२० आई खेलमा एक हजार २३ रन बनाउनु भएको छ । २२ वर्षीय शेखको उच्चतम व्यक्तिगत रन ६४ रन हो । ११८.६७ स्ट्राइक रेटमा उहाँले ९९ चौका र ३४ छक्का प्रहार गर्नुभएको छ । विकेटकिपर ब्याट्सम्यानका रूपमा चिनिने शेख फर्ममा देखिनुहुन्छ ।

कुशल मल्ल
कुशल आक्रामश खेलाडी हुन । आक्रामक बायाँहाते खेलाडी मल्लको फर्म राम्रो छ । एसिसी प्रिमियर कपमा उहाँले नेपालका लागि गतिलो प्रदर्शन गर्नुभएको थियो । ब्याटिङ र बलिङमा एकैनासको योगदान दिन सक्ने खुबी भएका मल्ल नेपालका लागि टी–२० आईमा सर्वाधिक रन बनाउने पाँचौँ खेलाडी हुन । मल्लले २०१९ देखि ३९ खेल खेल्नुभएको छ । उहाँले एक खेलमा सर्वाधिक १३७ रनको योगदान दिनुभएको छ । उहाँले टी–२० आईमा ७७१ रन बनाउनु भएको छ ।

आरिफ शेख
आरिफ ओपनर आसिफ शेखका दाजु हुन । एसिसी प्रिमियर कपमा स्थान बनाउन नसकेका आरिफ समान दुईपटकको एकदिवसीय तथा टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको घरेलु सिरिजमा स्थान बनाउन सफल हुनुभएको छ । टोलीमा उहाँ आवश्यकताअनुसार चौथोदेखि साताँै क्रमसम्म ब्याटिङ गर्न आउने गर्नुहुन्छ । उहाँले २०१८ देखि ३८ खेल खेल्नुभएको छ । छैटौँ नम्बर क्रिजमा आउने आरिफले टी–२० आईमा चार सय ९३ रन बनाउनु भएको छ ।

गुल्सन झा
गुल्शन नेपालको राष्ट्रिय टोलीमा पछिल्लो समय अलराउन्डर भूमिका देखिनुभएको छ । आक्रामक ब्याटिङ गर्न रुचाउने गुल्सन विकेट पनि लिन माहिर हुनुहुन्छ । १८ वर्षीय गुल्शनले तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्ने अवसर पाउँदै आउनु भएको छ । टी–२० आईमा २९ खेल खेल्दा उहाँले तीन सय ६२ रन बनाउनु भएको छ । २०२२ मा डेब्यु गर्नुभएका गुल्शनले अहिलेसम्म १९ विकेट लिनुभएको छ ।

सन्दीप जोरा
२२ वर्षीय सन्दिप जोरा नेपाली टोलीको मध्यक्रमका ब्याट्सम्यान हुन । दायाँहाते खेलाडीले कमै अवसर पाएका छन । तर, उहाँले प्राप्त अवसरमा आफूलाई सिद्ध गर्नुभएको छ । उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म उहाँले प्रभावशाली प्रदर्शन गर्नुभएको छ । २०१९ देखि टोलीमा स्थान बनाउनु भएका जोराले ३० खेल खेल्नुभएको छ । तीन सय ८७ रन बटुलेका जोराले २३ चौका र १५ छक्का प्रहार गर्नुभएको छ ।

करण केसी
एक दशकदेखि करण नेपालका मुख्य अलराउन्डर खेलाडीका रूपमा स्थापित हुनुहुन्छ । जुनसुकै अवस्थामा ब्याटिङ र बलिङ गर्न सक्ने क्षमता भएका करणले नेपालका लागि टी–२० आईमा ६८ खेल खेल्नुभएको छ । ३२ वर्षीय अलराउन्डर करणको खुबी आक्रामक ब्याटिङ हो । उहाँले चार सय १७ रन बनाउनु भएको छ । बलिङतर्फ टी–२० आईमा ९० विकेट लिनुभएको छ । २०१८ मा करणले नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गर्नुभएका करण नेपालका पूर्वकप्तान सन्दीप लामिछानेपछि टी–२० आईमा सर्वाधिक विकेट लिने सूचीमा हुनुहुन्छ । उहाँ दोस्रो स्थानमा हुनुहुन्छ । उहाँको उत्कृष्ट प्रदर्शन ५/२१ रहेको छ ।

सोमपाल कामी
सोमपाल नेपाली टोलीको अनुभवी खेलाडीमा पर्नुहुन्छ । २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेल्दादेखि अहिलेसम्म उहाँले नेपाली टोलीलाई उत्कृष्ट योगदान दिँदै आउनु भएको छ । गत वर्ष एसिया कपमा भारत र पाकिस्तानविरुद्ध उहाँले बलिङमा प्रभावशाली प्रदर्शन गर्नुभएको थियो । ६५ टी–२० आई खेलमा तीन सय १५ रन बनाउनु भएका २८ वर्षीय यिनले ५८ विकेट लिनुभएको छ ।

अभिनाश बोहरा
नेपालका लागि टी–२० आईमा सर्वाधिक विकेट लिने सूचीमा बोहरा तेस्रो स्थानमा हुनुहुन्छ । तीव्र गतिका बलर बोहरा सुपर ओभरका विशेषज्ञ हुन । २०१९ देखि टोलीमा रहेर उहाँले ५९ खेल खेल्दा ७४ विकेट लिनुभएको छ । उहाँले २०१९ मा माल्दिभ्सविरुद्ध ११ रन दिएर ६ विकेट लिनुभएको थियो ।

अनिल शाह
२५ वर्षीय अनिल घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीमा स्थान बनाउनु भएको छ । २०१८ देखि टोलीमा स्थान बनाए पनि उहाँले टी–२० आईमा मात्र दुई खेल खेल्नुभएको छ । एकदिवसीय खेलमा उहाँले नेदरल्यान्डविरुद्ध ५७ रन तथा क्यानडाविरुद्धको अभ्यास खेलमा ११२ रन बनाउनु भएको थियो ।

ललितनारायण राजवंशी
राजवंशी नेपालका विशेषज्ञ स्पिनर हुन । २५ वर्षीय राजवंशीले २०१८ देखि टोलीमा स्थान बनाउँदा २१ खेल खेल्नुभएको छ । उहाँ १८ विकेट लिएर नेपालका लागि उच्च विकेट लिनेको नवौँ स्थानमा हुनुहुन्छ ।

विवेक यादव
नेपाली टोलीका अलराउन्डर २० वर्षीय खेलाडी विवेक ले २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको हो । उहाँको विशेषता लामो सट प्रहार गर्नेमा रहेको हो ।

प्रतिश जिसी
१९ वर्षीय बलिङ अलराउन्डर प्रतिशले २०२३ बाट राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको थियो । अहिलेसम्म १० खेलमा आठ विकेट लिनुभएका प्रतिशको उत्कृष्ट प्रदर्शन ३÷१३ रहेको छ ।

आकाश चन्द
आकाशले नेपाली टोलीबाट डेब्यु गरेपछि मात्र तीन खेल खेल्नुभएको छ । यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा स्थान बनाउनु भएका आकाश अहिलेसम्म तीन खेलमा सात विकेट लिनुभएको छ । १९ वर्षीय आकाशले टी–२० आईमा हङकङविरुद्ध डेब्यु गर्नुभएको थियो ।