जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार ११:४०

बैरागी मुख्यसचिव नियुक्त


काठमाडौं, असोज १५

सरकारले मुख्यसचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उहालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

लोकदर्शन रेग्मीले पदबाट राजिनामा दिएपछि वैरागीलाई नियुक्त गरिएको एक मन्त्रीले जनताटाइम्स अनलाइनलाई जानकारी दिनुभयो । वैरागी २०७२ असोज २२ मा सचिव नियुक्त हुनु भएको थियो । वैरागीले पूरै कार्यकाल अर्थात् २०८० असोज २२ गतेसम्म काम गर्न पाउनु हुने भएको छ ।

प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकारका रूपमा काम गर्न पाइने भएकाले कर्मचारीतन्त्रमा मुख्य सचिव पद निक्के आकर्षक मानिन्छ । निजामती सेवा ऐनको दफा १९ (२)‘क’मा ज्येष्ठता र कार्यकुशलताका आधारमा बहालवाला सचिवहरूमध्येबाट एक जना मुख्यसचिव नियुक्त गरिने उल्लेख छ ।

सरकारका ७० सचिव (विशिष्ट श्रेणी) मध्ये वरिष्ठ तीन सचिवमा परराष्ट्रका शंकरदास वैरागी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा र संस्कृति र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी रहनु भएको थियो ।