जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार १४:१४

इटालीमा जहाज दुर्घटना, आठको मृत्यु


काठमाडौं, असोज १८ । इटालीको मिलान क्षेत्रमा हिजो भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ। सो विमान निजी र सानो रहेको थियो । सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो। उक्त जहाजका चालक, सहचालक र अरु छ जना यात्रुको सो विमान दुर्घटनामा परेर निधन भएको समाचारमा जनाइएको छ ।

सो जहाज दुर्घटनामा परेर निधन भएकामा एकजना इटालियन नागरिक पनि रहेका छन्। त्यस्तै त्यसमा एक बच्चाको पनि ज्यान गएको छ । यहाँका स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन् । बस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरु निकै आतंकित भएको बताइएको छ। प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो संख्याका उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि परिचालन गरिएको थियो ।