जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार १८:०९

मध्य भोटेकोशीको आईपिओमा कति पर्यो आवेदन ?


काठमाडौं, असोज २२ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा हालसम्म साढे २ गुणा बढीको आवेदन परेको छ। आज मध्यान्ह्सम्म आईपीओमा १५ लाख ६२ हजार १ सय ८० जना आवेदकबाट २ करोड ३५ लाख ९२ हजार २ सय ९० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा २.८८ गुणा बढी हो । कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गरेको हो ।

९० लाख कित्तामध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको छ । त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

माग भन्दा बढीको आवेदन परिसकेकोले यो आईपिओ गोलाप्रथाबाट नै बाँडफांड हुनेछ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाउने छन् । कम्पनीले यसअघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांडसमेत गरिसकेको छ।