जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार २०:२२

हस्तकला व्यापार मेला सुरु हुँदै, यी हुन प्रमुख आकर्षण


काठमाडौं, कात्तिक ११ । नेपाल हस्तकला महासंघको १८औं हस्तकला व्यापार मेला यही मंसिर ३ गतेदेखि सुरु हुने भएको छ । विगत वर्षहरूमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यसवर्ष काठमाडौं हायात रिजेन्सी होटेलमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्यै बजारलाई पुनः चलायमान बनाउन यो मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा महासंघले गरेको छ । उक्त मेलालाई नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, विभिन्न संघसंस्थाहरूको पनि सहयोग रहेको छ । उक्त मेलामा हस्तकलालगायत विभिन्न वस्तुहरूको करिब १२० वटा स्टल रहने छ ।

मेलाको प्रमुख आकर्षणको रूपमा कला प्रतियोगिताअन्तर्गत नेच्यूरल फाइबर (प्राकृतिक रेसा) र फिलगिरी गरी दुई वटा विधामा प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दियो । नेपाली हस्तकला लगायतका अन्य उत्पादित सामानहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्देश्य रहेको महासंघले जनाएको छ ।

हस्तकलाका सामाग्रीहरूको प्रचार प्रसार तथा उजागर गरी निर्यात व्यापार प्रवर्द्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध विकास गर्नु आजको आवश्यकता रहेको महासंघको बुझाइछ ।

१६औं कला प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले हस्तकलाको क्षेत्रमा रहेको सीप, कला र प्रविधिबारे जानकारी आदान प्रदान गर्नु मेलाको मुख्य उद्देश्य रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु लघु एवं साना उद्यमी व्यवसायीले विदेशी आयातकर्ताहरुसंग ब्यबसायिक सम्बन्ध स्थापित गर्न थप टेवा पुग्ने उहाँको भनाई छ ।

प्रत्येक वर्ष व्यापार मेलाको आयोजना हुँदा उत्पादकले निकासीजन्य नौलो बस्तुको उत्पादन गर्ने अवसर भएको पनि उहाँले बताउनु भयो । स्तै ७० वर्ष नाघेका ज्येष्ठ कलाकारहरूलाई तथा हस्तकला वस्तुहरू विदेशी बजारका निर्यात गर्ने उत्कृष्ट निकासीकर्ताहरूलाई पनि सम्मान गरिने कार्यक्रम रहेको मेला संयोजक बज्राचार्यले जानकारी दिनुभयो ।

विदेशी हस्तकला आयातकर्ता र उपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तर्राष्ट्रियकरण व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश प्रवाह गर्नु यो मेलाको मुख्य उद्देश्य रहेको महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताउनु भयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रेता तथा बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई जनमानसमा उजागर गर्नु पनि रहेको उहाँको भनाइ छ ।

अध्यक्ष शाक्यका अनुसार अवलोकनका लागि नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुखहरू तथा पदाधिकारीको सहभागिता रहने छ । उहाँले देशको आर्थिक विकासमा हस्तकलाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका निम्ति तिनै तहका सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो । कोभिडको महामारीमा पनि हस्तकलाको निर्यात सन्तोषजनक भएको बताउनु भयो । मेला परम्परागत र मौलिकशैलीका सामाग्रीहरूको उत्पादन तथा कलाहस्तान्तरण आजको मुख्य चुनौती रहेको उहाँको भनाई छ ।

कार्यक्रममा महासंघका उपाध्यक्ष प्रचण्डमान शाक्यले मेलाबाट अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु लघु एवं साना उद्यमी व्यवसायीले विदेशी आयातकर्ताहरुसंग ब्यबसायिक सम्बन्ध स्थापित गर्न सक्ने बताउनु भयो । त्यस्तै प्रत्येक वर्ष व्यापार मेलाको आयोजना हुँदा उत्पादकले निकासीजन्य नौलो बस्तुको उत्पादन गर्ने,हस्तकलाको क्षेत्रमा रहेको सीप, कला र प्रविधिबारे जानकारी आदान प्रदान हुने बताउँदै स्वदेशमै रोजगारी अभिवृद्धि हुने उहाँले बताउनु भयो ।

एकै छानामुनि हस्तकला वस्तुहरूको बृहत् प्रदर्शनी तथा बिक्री,उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरूप वस्तुहरूको प्रदर्शन, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अर्मूत सांस्कृतिक सम्पदाको उजागर, क्राफ्ट, कम्पीटिसन, ज्येष्ठ कलाकारहरूलाई सम्मान, उत्कृष्ट निकासीकताहरूलाई सम्मान लगायत मेलाका आकर्षण रहेको छ । मंसिर ३ देखि ५ गतेसम्म जारी रहने मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।