भैरहवा, कात्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । आज बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनी ओर्लनु भएकी राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको हो ।
राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी आइपुग्नु भएको थियो । लुम्बिनीमा आएपछि राष्ट्रपति भण्डारीले सबैभन्दा पहिले त्यहाँ बनेको बज्रयान बिहार उदघाटन र पूजा गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । त्यसपछि राष्ट्रपतिले मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरूयोजनाको प्रगतिबारे जानकारी लिनुभएको थियो । राष्ट्रपति भण्डारीलाई लुम्बिनी विकासको गुरूयोजनाको हालसम्मको प्रगतिबारे कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले जानकारी गराउनु भयो ।
त्यसलगत्तै लुम्बिनीमै बनेको अन्तर्राष्ट्रिय सभा हलको समेत अवलोकन गरेको सदस्य सचिव शाक्यले बताउनु भयो । त्यस्तै, नेपाल मण्डल स्वागतद्वारको निरीक्षण गर्नुका साथै शान्तिद्वीपबाट मायादेवी मन्दिरसम्म पैदलयात्रा गरेको र लुम्बिनी बौद्ध विश्वविद्यालयका बारेमा पनि जानकारी लिएको सदस्य सचिव शाक्यले बताउनु भयो ।
शनिबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बाग्मती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, विभिन्न मन्त्रालयका सचिव लुम्बिनीमा आइपुगेको कोषका सदस्यसचिव शाक्यले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्