जनता टाइम्स

२७ मंसिर २०७८, सोमबार १४:४१

ताइवानसँग सम्बन्ध तोडेको तीन दिनपछि निकारागुवाले पायो २ लाख डोज खोप


बेइजिङ, २७ मंसिर । ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेपछि निकारागुवाले चीनबाट १० लाख डोज कोभिड खोप पाएको छ । सिनोफार्म खोपको २ लाख डोज बोकेर एयर चाइनको एउटा विमान निकारागुआाको राजधानी सहर मनगुवा उत्रिएको छ । ‘हामीले चीनबाट सहयोगस्वरुप २ लाख डोज खोप ल्याएका छौ,’ निकारागुवाका राष्ट्रपतिका छोरा लाउरेनो ओर्टेगाले भने ।

बेइजिङसँग सम्बन्ध पुर्नस्थापना भएकोमा आफूहरुलाई खुसी लागेको निकारागुआका अधिकारीहरुले बताउनुभएको छ । अहिले निकारागुआका जम्मा ३८ प्रतिशत मानिसहरु पूर्ण खोप लगाएका छन् । त्यस्तै, ६७ प्रतिशतले एउटा डोज मात्र खोप लगाएका हुन् ।निकारागुवाले तीन दिनअघि ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो ।

निकारागुआ ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्ने अन्तिम देश हो । निकारागुआको कदमलाई चीनले स्वागत गरेको थियो । आफूसँग कूटनीतिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि ताइवानसँगको सम्बन्ध तोड्नुपर्ने बताउँदै आएको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार ताइवानसँगको सम्बन्ध विस्तार गर्न अन्य देशहरुलाई आह्वान गरिरहेका बेला निकारागुआको पछिल्लो घोषणा आएको हो ।

ताइवानलाई बेइजिङले आफूबाट टुक्रिएर रहेको एउटा प्रान्तको रुपमा हेर्ने गरेको छ । तर, ताइवानले भने आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न प्रजातान्त्रिक देशको रुपमा व्यवहार गर्दै आएको छ । सन् २०१६ मा राष्ट्रपति साइ इङ वेन राष्ट्रपति बनेपछि छिमेकी देशहरुले एकपछि अर्को गरी कूटनीतिक सम्बन्ध तोड्दै आएका छन् ।