जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार ११:०२

माओवादी केन्द्रको कर्णालीमा पनि लफडा, चार दिनसम्म चयन हुन सकेन नयाँ नेतृत्व


सुर्खेत, मंसिर २८ । नेकपा माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट नेतृत्व चयन गर्न सकेको छैन । शनिबारबाट सुरू भएको सम्मेलनबाट नेतृत्वका लागि आंकाक्षी धेरै भएका कारणले सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो ।

अध्यक्षका आंकाक्षी धेरै भएका कारणले नेतृत्व चयन गर्न सकस भएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार प्रदेश अध्यक्षका लागि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहनु भएको छ ।

केन्द्रले वर्तमान अध्यक्ष राजकुमार शर्मालाई नै प्रदेश अध्यक्ष बनाउन दबाब दिएको छ भने अन्य नेताहरूले अध्यक्षमा आफ्नो दाबी छाडेका छैनन् । माओवादीका एक नेताका अनुसार केन्द्रले जे भन्छ त्यही हुने एक नेताले बताए । सकेसम्म पुरानो कमिटीलाई नै निरन्तरता दिने कि भन्ने बारेमा पनि नेताहरूमा बहस भइरहेको उनले जानकारी दिए ।

ती नेताका अनुसार २११ जनाको प्रदेश कमिटी आजै९मंगलबार० बनाउन र नौ जना पदाधिकारीको टुङ्गो केन्द्रले लगाउने विषयमा छलफल चलिरहेको उनले बताए । ‘विभिन्न विकल्पका विषयमा छलफल जारी छ’, उनले भने, ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुन्छ ।’