जनता टाइम्स

११ पुष २०७८, आईतवार १२:२७

बेलायतमा एकै दिन एक लाख २२ हजारबढी संक्रमित


लन्डन, ११ पुस । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाउनुभएको छ । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार हिजो मात्र एक लाख २२ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यसअघि, यहाँ शुक्रबार मात्र एकै दिनमा एक लाख २० हजार संक्रमित भेटिएका थिए ।

यहाँ कोरोनाभाइरसको संक्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो । त्यसपछि हिजो मात्र यहाँ एक लाख २२ हजार १८६ जनामा संक्रमण भएको हो । यो नै यहाँ कोरोनाभाइरसको संक्रमण सुरु भएदेखि नै सबैभन्दा धेरै संक्रमित पाइएको बताइएको छ । बेलायतमा पछिल्ला केही हप्ताहरूमा कोरोनाभाइरसको प्रकोप बढ्दै गएको देखिएको छ ।

यहाँका अधिकारीहरूले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन् । त्यसैगरी, यहाँ हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । पछिल्लो समयमा ओमिक्रोन भेरियन्ट देखिएपछि यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ । यहाँ अहिलेसम्म एक करोड १८ लाख ९१ हजारभन्दा बढी संक्रमित पुगेका छन् ।

त्यसैगरी, बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा यहाँ १३७ जना कोरोनाभाइरसका संक्रमितहरूको ज्यान गएको बताइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरूले पछिल्ला हप्ताहरूमा संक्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्य रूपमा कमी आएको देखिएको बताएका छन् ।