काठमाडौं, २४ पुस । बैंककै कर्मचारीको मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ ।महानगरीय प्रहरी परिसर काठमाण्डौका अनुसार बैंकको नगद सङ्कलक काठमाण्डौको काँडाघारी बस्ने प्रदीप खत्रीसहित चार जना पक्राउ परेका छन् ।
खत्रीले काठमाण्डौ महानगरपालिका–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार रुपैयाँ बैंकमा दाखिला गर्न जाने क्रममा लुटपाट भएको सूचना प्रहरीलाई दिएका थिए ।सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गर्दा खत्रीमाथि नै शङ्का लागेपछि पक्राउ परेका थिए । अनुसन्धानपछि मिलेमतोमा नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।प्रहरीले चोरीमा संलग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने २४ वर्षका विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको हो । उनीहरू चार जनाले पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको प्रहरीले जनाएको छ ।अहिलेसम्म १३ लाख ४६ हजार रुपैयाँ फेला परेको र दुई लाख ८२ हजार रुपैयाँ भने खर्च गरेको खुलेको छ ।
यसरी लुटिएको थियो रकम
प्रहरीका अनुसार बैंकको बानेश्वर शाखाका कर्मचारी प्रदीप खत्री बैंकको ‘होम सर्भिस’ कर्मचारी हुन् । खत्रीले एनआईसी एशिया बैंकको बानेश्वर शाखामा कुनै पनि कम्पनीले बैंकमा ठूलो रकम जम्मा गर्न खोजे सम्बन्धित ठाउँमा पुगेर रकम रिसिभ गर्ने गर्थ्ये ।
१८ पुसमा खत्री त्यसका लागि बानेश्वरस्थित १० नम्बर वडा कार्यालय र मेटलाइफ इन्स्योरेन्स कम्पनीमा रकम बुझ्न गए । प्रहरीका अनुसार खत्रीले वडा कार्यालयबाट १२ लाख र मेटलाइफ इन्स्योरेन्सबाट चार लाख रुपैयाँ संकलन गरेका थिए ।
उनीसँगै मोटरसाइकमा बैंककी महिला कर्मचारी आरुसी भण्डारी पनि थिइन् । मध्य बानेश्वरस्थित ग्लोबल कलेज अगाडि पुगेपछि भने खत्रीले मोटरसाइकल रोके । उनले मोटरसाइकलको पेट्रोल सकिन लागेको भन्दै ‘रिजब’मा लगाउन खोजेका थिए ।
त्यहीबेला विमल तामाङ, अनिस खड्का र शक्ति पौडेलले मोटरसाइकलको पछाडि बसेकी आरुसी भण्डारीले बोकेको पैसाको ब्याग लुटेर भागेका थिए ।
प्रहरी अनुसन्धानबाट बैंकका कर्मचारी प्रदीप खत्री र विमल तामाङ चिनजानका साथी भएको खुलेको छ । तामाङ बानेश्वरस्थित विद्युतीय स्कुटर सोरुमका चालक हुन् ।
खत्रीले आफूले बैंकको रकम संकलन गर्ने गरेको र मौका मिलाएर त्यो रकम लुट्नुपर्छ भन्दै तामाङसँग योजना बनाएका थिए । खत्रीकै योजना तामाङले शक्ति पौडेललाई सुनाएका थिए । शक्तिले अनिस खड्कालाई लुटपाटका लागि तयार पारेका थिए ।
विमल प्रदीपको योजना अनुसार उपयुक्त अवसरको खोजीमा थिए । १८ पुसमा प्रदीपले त्यही योजना सफल पार्न विमललाई बैंकको रकम लुट्न तामाङको समूहलाई बोलाएका थिए । आइतबार ४ बजे लुटिएको रकमबारे उनीहरूले प्रहरीमा ६ बजेमात्रै जानकारी गराएका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रदीपको भूमिका शंकास्पद देखिएपछि १८ पुसमै नियन्त्रणमा राखेर सोधपुछ गरेपछि घटना उनकै योजनामा भएको खुलेको हो ।
प्रहरीका अनुसार बैंकको रकम लुटेर उनीहरू फरार भएका थिए । प्रहरीले फरार भएकाहरूलाई प्रदीपमार्फत नै पक्राउ गरेको थियो । प्रदीपलाई थप तीन करोड रुपैयाँ लुट्न बोलाउन लगाएर बानेश्वर आइपुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्