तेह्रथुम २४ माघ । जाडोका कारण संरक्षक विहीन नागरिकले कष्टकर जीवन बिताइरहनु परेको छ । विशेषगरी जाडो याममा ज्येष्ठ नागरिकलाई सकस हुने गरेको छ । आर्थिक रूपमा विपन्न परिवारका नागरिकलाई त झन् खानपानको जोहो गर्नै मुस्किल बन्दै गएको छ । यी र यस्तै समस्याले जीवन निर्वाह गर्दै आएकी छथर गाउँपालिका–२ आङदिमकी लक्की सेर्पालाई राहत मिलेको छ ।
छथर गाउँपालिकाले संरक्षक विहीन अवस्थामा रहेका ज्येष्ठ नागरिक, अति विपन्न, एकल पुरुष, महिला, असहाय नागरिकलाई राहत दिने उद्देश्यका साथ सिरक वितरण सुरु गरेको कार्यक्रमले सेर्पालाई राहत मिलेको हो । उहाँले भन्नुभयो, ‘हिउँद सुरु भएपछि जाडोले काम गर्न मुस्किल छ । आफूले लगाउने लुगा जोहो गर्न पनि गाह्रो छ । हामी जस्ता नागरिकले सिरक पाउँदा न्यानो गरी निदाउन पाउने छौं ।’
लक्की जस्तै वाङछु सेर्पाले पनि सिरक पाउनुभयो । उहाँलाई पनि जाडो राहत मिलेको बताउनुभयो । गाउँपालिकाले हिमपातका कारण समस्या परेका संरक्षक विहीन, ज्येष्ठ नागरिक, एकल पुरुष, एकल महिला, आर्थिक विपन्न, असहाय तथा दीर्गरोगीलाई वितरण गर्ने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको सबै वडाका करिब ५ सय नागरिकलाई सिरक वितरण गर्ने तयारी भएको छ ।
केही समयअघि मात्रै घरैमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्दै स्वास्थ्य उपचार कार्यक्रम सञ्चालन गरेको थियो । गाउँपालिका साथी लौरो उपहार, देखि एकल पुरुष भत्ता वितरण गर्दै आएको गाउँपालिकाले दन्त उपहारलगायतका कार्यक्रम गर्दै आएको प्रवक्ता राजन नेपालीले बताउनुभयो । नागरिकको समस्यामा स्थानीय सरकार पनि छ भन्ने आभास होस् भन्ने उद्देश्यका विगतका वर्षदेखि नै यी र यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्